तर्कराज भट्ट, डडेलधुरा । लामो समय खडेरी परेपछि डडेलधुरामा गहुँका बिरुवा सुक्न थालेका छन् ।सिँचाइको सुविधा नभएको ठाउँमा गहुँबाली सुक्न थालेको हो ।
खेतमा लगाएको गहुँसुक्न थालेपछि उत्पादन घट्न सक्ने भन्दै चिन्ता सुरु भएको आलिताल गाउँपालिका २ का देवराज भट्टले बताउनुभयो । खेतमा सिँचाइकोसुविधा छैन । हिउँदमा पर्ने खडेरीका कारण गहुँ उत्पादनमा कमी आउने गरेको नवदुर्गा गाउँपालिका – ५ का अर्का किसान टेकबहादुर साउदको भनाइ छ ।
डडेलधुरामा आठ हजार सात सय ४४ हेक्टर क्षेत्रफलमा गहुँ खेति हुँदै आएको छ । गत वर्ष पनि खडेरी परेका कारण १ दशमलव ५ मेट्रिकटन प्रति हेक्टर मात्रै गहुँ उत्पादन भएको थियो । यो वर्ष पनि सिँचाइ सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव पर्न सक्ने आँकलन कृषि ज्ञान केन्द्र डडेलधुराका प्रमुख रामचन्द्र भट्टको छ । हिउँदे वर्षा नभएको खण्डमा यस पटक गहुँको उत्पादन घट्ने निश्चित जस्तै बनेको छ ।