Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना विशेष

चुम्लिङटार स्थित त्रिशुली पुलको ठेक्का तोड्ने पप्पु कन्स्ट्रक्शनलाई कालोसूचीको चेतावनी

चुम्लिङटार स्थित त्रिशुली पुलको ठेक्का तोड्ने पप्पु कन्स्ट्रक्शनलाई कालोसूचीको चेतावनी

पत्रपत्रिका

१६, मंसिर २०७९
चुम्लिङटार स्थित त्रिशुली पुलको ठेक्का तोड्ने पप्पु कन्स्ट्रक्शनलाई कालोसूचीको चेतावनी
images

गोरखा । चितवनको इच्छाकामना गाउँपालिका चुमखोला र गोरखाको गण्डकी गाउँपालिका १ बुटार जोड्ने गरी त्रिशुली नदीमाथि पप्पु कन्स्ट्रक्शनले पुल निर्माणको जिम्मा लिएको आठ वर्ष बित्यो । २०७१ असार २९ गते १७ करोड ४६ लाखमा पुल निर्माणको ठेक्का बिरगंज उपमहानगरपालिका १० पर्साको पप्पु कन्स्ट्रक्शनले पायो । दुबैतर्फ पुलको पिल्लर मात्रै हालेर कन्स्ट्रक्शनले काम छाडेको वर्षौँ बित्यो ।

images
images

काम छाड्ने पप्पु कन्स्ट्रक्शनलाई गोरखा स्थित ११ किलो छेपेटार–भालुस्वाँरा–बारपाक सडक योजनाले निर्माण काम सम्पन्न नगरे ठेक्का तोड्ने प्रक्रिया अघि बढाउने जनाएको छ । ‘सुचना प्रकाशित भएको सात दिनभित्र निर्माण स्थलमा सम्बन्धित निर्माण ब्यवशायी परिचालित भई निर्माण काम सञ्चालन गर्न भनिएको आयोजना प्रमुख पशुपति ज्ञवालीले बताए । ‘अन्यथा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ र ठेक्का सम्झौता शर्त बमोजिम ठेक्का तोडिनेछ’, उनले भने ।

कार्यालयले बुधवार सार्वजनिक सूचना जारी गर्दै कम्पनीले काम सम्पन्न गर्न कुनै प्रयास नै नगरेको, तदारुकता नदेखाएको जनाएको छ । पटक पटक लिखित एवं मौखिक जानकारी गराउँदासमेत निर्माण कार्य सम्पन्न गर्न गराउन कम्पनीले चासो नदिएको सुचनामा उल्लेख छ ।

सम्झौताअनुसार पुल निर्माण २०७४ पुस २९ गते सक्नुपथ्र्यो । निर्माण सुरु भएको आठवर्ष र सम्पन्न भईसक्नुपर्ने पाँच वर्षसम्म पुलको प्रगति ११ प्रतिशत मात्रै छ । समयमै काम नसक्ने निर्माण ब्यवशायीलाई २०७५ असार २७ गते कार्यालयले करिब दुई करोड भुक्तानी दिएको छ ।

निर्माण कम्पनीले पुलको गोरखातर्फ निर्माण सामग्री लैजाने सडक नभएको भन्दै गरेको दावीका विषयमा कार्यालयसँग बिवाद भयो । बिवादपछि निर्माण ब्यवशायीले सर्वोच्च अदालतमा २०७६ कात्तिकमा मुद्धा दायर गरेका थिए । २०७८ मंसीरमा निर्माण कम्पनीले फेरि उच्च अदालतमा कार्यालय बिरुद्ध अर्को मुद्धा दायर गरेको थियो । काम नगरी बिभिन्न बहानामा कार्यालयलाई उल्टै निर्माण कम्पनीले मुद्धा दायर गर्ने गरेको छ । निर्माण कम्पनीले कार्यालयले दबावमा राख्दा यसअघि कार्यालयले ठेक्का तोड्ने प्रक्रिया सुरु गर्न सकेन ।

पुलको गोरखातर्फ कच्ची सडक खुलेको छ । निर्माण कम्पनीले उक्त सडक भएर मेसिन लैजान नसक्ने भएकाले बेलिब्रिज बनाईदिन माग गरेको हो । कार्यालयले भने बाटो खुलेकाले लैजान सकिने बताउँदै आएको छ ।

पक्की पुल नजिकै एकसय मेगावाटको सुपर त्रिशुली जलविद्यूत आयोजना निर्माण हुँदैछ । पप्पुले पुल नबनाउँदा उक्त आयोजना पनि अन्यौलमा छ । अन्ततः जलविद्युत आयोजना निर्माण गर्न लागेको ब्लु इनर्जी कम्पनीले सडक विभागको समन्वयमा बेलिब्रिज बनाउने बारे एकवर्षअघि सहमति भएको थियो ।

ब्लु इनर्जीसित ठेक्का लिएको चिनियाँ सिसिसिसी कम्पनीले बिना जानकारी काम छाडेर भागेपछि बेलिब्रिज पनि निर्माण हुन सकेको छैन । जलविद्युत आयोजनाले लागत ब्यहोर्ने र सडक विभागले बेलिब्रिज उपलब्ध गराउने विषय अहिले अन्यौलमा छ । २०७९ बैशाखमा काम सक्ने गरी बेलिब्रिज बनाउने भनिएको थियो । तर अहिलेसम्म केहीपनि काम नभएको सडक आयोजनाले जनाएको छ ।

राजमार्ग जोड्ने बुटार पुल अलपत्र हुँदा गोरखाको गण्डकी गाउँपालिकाका स्थानीयलाई आउजाउ गर्न समस्या भएको छ । त्यहाँका स्थानीय दैनिक डोकोमा तरकारी बोकेर झोलुङ्गे पुलहुँदै आउने जाने गर्छन । गोरखा १ प्रदेश ‘क’ का सांसद कृष्ण धितालले पुल तत्काल आवश्यक परेको र लामो समयदेखि अलपत्र हुँदा सर्वसाधारणले दुःख पाएको बताए । ‘तत्काल काम नगरे नयाँ प्रक्रिया थाल्न कार्यालयसँग मैले भनेको छु’ उनले भने ‘महत्वपूर्ण पुललाई यसरी अलपत्र बनाउन मिल्दैन ।’ दरौदी दैनिकबाट

images
प्रकाशित मिति :मंसिर १६, २०७९ शुक्रवार - ०९:४०:१२ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology