काठमाडौं ।माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीले समानुपातिकतर्फ २ लाख ९० हजार मत कटाएको छ । प्रत्यक्षतर्फ १० वटा सिट जितेको एकिकृत समाजवादी समानुपातिकतर्फ तीन प्रतिशत मत कटाएर राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ ।
निर्वाचन आयोगका अनुसार चुनावमा कुल १ करोड ७ लाख मत खसेको अनुमान छ । ९६ लाख देखि १ करोड सम्म सदर मत हुने आँकलन छ । राष्ट्रिय दलको लागि प्रत्यक्षतर्फ कम्तिमा १ सिट र समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ । यदि यो चुनावमा १ करोड मत सदर भयो भने राष्ट्रिय दल बन्न ३ लाख मत चाहिन्छ । एकिकृत समाजवादीलाई ३ लाख मत ल्याउन हम्मे हम्मे पर्ने देखिन्छ ।
किनकी १ करोड १ लाख मत गन्दा जम्मा एकिकृत समाजवादीको २ लाख ९० हजार मत आएको छ ।समानुपातिकतर्फ एमाले २७ लाख २२ हजार मतसहित पहिलो स्थानमा छ । यस्तै नेपाली कांग्रेसको २५ लाख ८६ हजार,नेकपा माओवादी केन्द्रको ११ लाख ५३ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीको ११ लाख ४ हजार, राप्रपाको ५ लाख ७९ हजार, जनता समाजवादी पार्टीको ४ लाख ८ हजार र जनमत पार्टीको ३ लाख ७६ हजार मत आएको छ ।