Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गणतन्त्रले भत्काउन नसकेको भाष्य

गणतन्त्रले भत्काउन नसकेको भाष्य

देवराज गुरुङ

७, कार्तिक २०७९
गणतन्त्रले भत्काउन नसकेको भाष्य
images

केही समयअगाडि नेपाली सञ्चारमाध्यमहरूमा नागरिकतामा अपमानजनक नाम भएका समाचार छापिए । त्यसपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अपमानजनक नाम भएका नागरिकता सच्चाउन परिपत्र गर्‍यो । दैलेख भगवतीमाई गाउँपालिका, ३ का ६२ वर्षीय कविरामले २०४६ मा गाउँमा खटिएको सरकारी टोलीबाट नागरिकता लिएका थिए । प्रधानपञ्चले सिफारिस गरेर कविरामको नाम ‘कुकुर कामी’ राखिदिए । कविरामले नागरिकता प्राप्त गरेको ३३ वर्षपछि, नागरिकतामा आफ्नो नाम सच्चाउने अवसर पाए । 

images
images

माथिको घटना उत्पीडित समुदायमाथि हुने विभेदको एउटा नमुना मात्र हो । राज्यको संरचना र भाष्यको निर्माण कसरी भयो ? बितेको डेढ दशकमा गणतन्त्र, संघीयता, धर्मनिपेक्षता, समावेशी सहभागिताको ढोल निकै पिटाइयो । हामीले व्यवस्था बदल्यौँ, शासक फेर्‍यौँ, तर भाष्य फेर्ने प्रत्यन गरेनौँ । समस्या व्यवस्था र शासकमा मात्रै होइन, भाष्यमा पनि थियो । पृथ्वीनारायणवाला (पञ्चायती भाष्य)लाई गणतन्त्रले हल्लाउन सकेन । त्यसले आफ्नो लय समातिरह्यो । भाष्यको निर्माण सबै पक्षमा गरियो । 

इतिहासको भाष्य :  नेपालको इतिहास लेखन विसं २००७ सालपछि व्यवस्थित भयो । बाबुराम आचार्य, डिआर रेग्मी, सूर्यविक्रम ज्ञवालीलगायतले इतिहास लेखनको जिम्मा पाए । राजा महेन्द्रले पञ्चायती शासन (२२ पुस, २०१७) लादेसँगै हाम्रो इतिहास पनि दरबारभित्र पस्यो । पृथ्वीनारायण शाहदेखि राणा शासनको अन्त्यसम्म आइपुग्दा नेपालको इतिहास शासककै स्तुतिगानमा भुल्यो । दरबार र शासकले जे भाष्य निर्माण गरे त्यही वैधानिक इतिहास बन्यो ।

००७ सालमा प्रजातन्त्रको स्थापनापश्चात् राज्यको समग्र पक्षले फड्को मार्ने जमर्काे गर्‍यो । तर, प्रजातन्त्रको विकास हुन नपाउँदै राजा महेन्द्रले लादेको पञ्चायती व्यवस्थाले प्रजातन्त्रको जग फेरि एकपटक हल्लियो । पञ्चायती व्यवस्था रूपमा जे–जस्तो भए पनि सारमा पृथ्वीनारायण शाहको एकीकरणको भाष्यको इतिहास निर्माण गर्न सफल बन्यो । महेन्द्रले पञ्चायती शासनमा गरेका गतिविधि हेर्दा त्यो व्यवस्थाको मुख्य उद्देश्य भनेकै पृथ्वीनारायणको एकीकरणको भाष्यलाई स्थापित गर्नु थियो । उदाहरणका रूपमा दरबारभित्र भएका लेखन कार्यहरू हुन्– इतिहास, साहित्य, गीत–संगीत आदि ।

सबैभन्दा रोचक पक्ष त के छ भने एकीकरणका पिताका रूपमा स्वीकार गरिएका या गराइएका पृथ्वीनारायण शाहको हाल चलनचल्तीको तस्बिरनै विसं ०२४ सालपछि केके कर्माचार्यले कोरेका हुन् । यो चित्र केवल चित्रमा मात्र सीमित रहेन, चित्रले इतिहासको भाष्यसमेत निर्माण गर्‍यो । चित्रले राष्ट्रनिर्माताको वैधानिकता र शासकीय रूपसमेत धारण गर्‍यो । तस्बिरमा पृथ्वीनारायणले प्रयोग गरेका सामग्री श्रीपेचबाहेक अरू सबै युरोपियन शैलीको छ ।

गोरखाका राजा पृथ्वीनारायण शाह दुब्लो र ख्याउटे थिए भनेर इतिहास रटाइन्छ, तर तस्बिर र इतिहासको तारतम्य कहाँ मेल खान्छ ? आफैँले लेखेको इतिहासको धज्जी आफैँबाट उडाइएको छ । सारमा महेन्द्र सफल रहे, अनि भाष्यको स्थापना गरियो, राष्ट्रनिर्माता पृथ्वीनारायण शाह । त्यही भाष्यका आधारमा निर्माण भएको इतिहासलाई नै आजको सबैभन्दा शक्तिशाली इतिहास भनिन्छ । गणतन्त्रको होहल्लाले पनि त्यसको जग भत्काउन सकेन । इतिहासको पुनर्लेखन आफैँमा जटिल छ । तर, हाम्रो गणतन्त्रले इतिहासको समीक्षासमेत गर्न सकेन वा चाहेन ।

संविधानको भाष्य :  ०७२ को संविधान निर्माण हुनुअगाडि राज्य पुनर्संरचना आयोग बन्यो । आयोगले मुख्यतः संविधानमा जनजाति, महिला, दलित, अल्पसंख्यक, पिछडिएका तथा उत्पीडित समुदायको अधिकार तथा राज्यसत्तामा प्रतिनिधित्वको किटान गर्नका लागि सरकारलाई सिफारिस गर्‍यो । तर, आयोगले उत्पीडित समुदायमाथि हुँदै आएको विभेदको भाष्यको जगमा बहस गरेन । मात्र समानुपातिक प्रतिनिधित्वको विषयमा जोड दियो । समस्या प्रतिनिधित्वमा मात्रै थिएन, भाष्यमा पनि थियो । उदाहरणका लागि, संविधानले वडासदस्यका रूपमा दलित महिलाको उपस्थिति अनिवार्य गरेको छ ।

वडामा प्रतिनिधित्व भए पनि मूलभूत रूपमा दलितहरूले गणतन्त्रमा पनि स्वतन्त्रताको अनुभूति गर्न पाएका छैनन् । राज्यको अंगमा प्रतिनिधित्व मात्र भएर हुँदैन, समुदायप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु जरुरी छ । राज्यमा उपस्थितिको दृष्टिकोणले मात्रै हेर्ने हो भने पृथ्वीनारायणका समयमा पनि बिसे नकर्ची, धार्ने कामी, बांगे सार्कीको उपस्थिति आजको भन्दा कम्तीको थिएन । हामीले संविधानमा दलितको उपस्थिति त खोज्यौँ, तर त्यसले दलितको मुद्दालाई हल गर्न खोजिएन । त्यसैले, समस्या प्रतिनिधित्वमा मात्रै होइन, राज्यले निर्माण गरेको बनोटमा पनि छ । दलितलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारको जग भत्काउनैपथ्र्यो र पर्छ । समावेशिताको हिसाबले मात्रै अघि बढेर पुग्दैन ।

धर्मको भाष्य :  जंगबहादुरले विसं १९१० मा मुलुकी ऐनमार्फत हिन्दू सत्तालाई वैधानिकता दिने काम गरे । ऐनले वर्ण व्यवस्थामा नअटाउने भिन्नै धर्म, संस्कृतिका आदिवासी, जनजातिलाई समेत हिन्दू व्यवस्थाकै फ्रेमभित्र हालेर नियमन गर्‍यो । पृथ्वीनारायणले बसालेको हिन्दू राज्यलाई बलियो बनाउन जंगबहादुरले जनजातिमाथि हिन्दू संस्कार नमानेको भन्दै मृत्युदण्डसमेत दिए । यसको ज्वलन्त उदाहरणका रूपमा दसैँ नमानेको भन्दै १९३३ सालमा धनकुटाका रामलिहाङ र रिदाम आठपहरिया राईलाई दिएको मृत्युदण्डलाई लिन सकिन्छ । त्यसका साथै जनजातिलाई हिन्दू परम्पराअनुसार दसैँ अनिवार्य गर्ने र प्रमाणस्वरूप बलि चढाएको पशुको रगतको पन्जाछाप घरको ढोकामा अनिवार्य गराइयो ।अहिलेको संविधानअनुसार हाम्रो देश धर्मनिरपेक्ष हो । हिन्दू धर्मभित्र पनि विभेद छ । उदाहरणका लागि, हिन्दू धर्म अँगाल्ने ब्राह्मणभित्रकै महिला र दलितले जनै धारण गर्न किन पाएनन् ? धर्मनिरपेक्ष राज्य भनेर घोषणा त गरियो, तर त्यसले व्यवहारमा परिवर्तन ल्याएन । 

शिक्षाको भाष्य :  संविधान र पाठ्यपुस्तकमा छुवाछुत सामाजिक अपराध हो भनेर पढाइएको छ, तर घर र समाजमा छुवाछुत चलिरहेकै छ । यस्तो किन भयो ? भनेर प्रश्न गर्दा उत्तर शिक्षकसँग हुँदैन वा दिन सक्दैनन् । यसको निश्चित कारण छ । हामीले हाम्रो मौलिकतामा हाम्रो शिक्षा पद्धति निर्माण गरेनौँ । उही राणाकालमा अंग्रेजहरूले भारतमा भित्र्याएको शिक्षा पद्धति आजसम्म हाम्रा विद्यालय तथा विश्वविद्यालयहरूमा निरन्तर छ । राणाकालमा आफूलाई चाहिने कर्मचारी उत्पादन गर्न त्रिचन्द्र कलेज, दरबार हाई स्कुलहरूमा जुन किसिमको अध्ययन हुन्थ्यो, त्यही शैलीको शिक्षा पद्धति अहिले पनि विद्यमान छ । अनि हामी गुणस्तरीय शिक्षा खोज्छौँ, भेटियोस् कसरी ? 

अर्कातर्फ, इतिहास पढाउने नाममा विद्यालय तहदेखि विश्वविद्यालयसम्म पृथ्वीनारायणको गुणगान राम्रै भेटिन्छ । पृथ्वीनारायणलाई राष्ट्रनिर्माताका रूपमा जबर्जस्त इतिहास रटान गराउने प्रवृत्ति कायमै छ । गणतन्त्रमा पनि पृथ्वीनारायणको अभियान राज्यविस्तार कि एकीकरण भन्ने विषयमा थेसिस लेख्न खोजियो भने लिट्रेचर रिभ्युको अभावमा त्यसले सार्थकता पाउन सक्दैन । अमुक व्यक्तिले लेखेको इतिहासलाई वैधानिकता नदिने प्रचलन डरलाग्दो छ । 

यो व्यवस्था ल्याउनका लागि संघर्ष गर्नेहरू पनि शाह र राणा शासनबारे ज्ञान बटुल्दै, बौद्धिकताको ‘सर्टिफिकेट’ लिने दौडमा छन् । त्यस्तै, विश्वविद्यालयमा अंग्रेजी भाषाको हाउगुजी डरलाग्दो छ । अंगेजी भाषा नै शिक्षा मान्ने प्रवृत्ति समाजमा व्याप्त छ । विद्यालयदेखि विश्वविद्यालयसम्म अंग्रेजीमा दखल रहेकाहरूलाई उत्कृष्ट विद्यार्थीका रूपमा हेर्ने गरिन्छ । गुरुकुलमा जस्तो गुरुको आज्ञाकारी छात्रछात्राले उत्कृष्ट नम्बर पाउने र राणाकालमा जस्तो गुरुको चाकरी गर्नेले जागर पाउने प्रवृत्ति अहिलेको विश्वविद्यालयको शैक्षिक अवस्थाको हो । विश्वविद्यालयको कोठामा भन्दा शिक्षकको घरमा कोचिङ पढ्न जानेको नम्बर धेरै आउनु यसैको उपज हो । बहुलवादलाई हाम्रो समाजले स्वीकार गर्छ । तर, विश्वविद्यालयको कोठामा शिक्षकको भन्दा फरक मत जाहेर गर्दा परीक्षामा सहिद हुनुपर्ने अर्काे विशेषता हाम्रो शैक्षिक क्षेत्रमा विद्यमान छ । 

सुन्दरताको भाष्य :  नेपालको गाथामा किन हिमाल, पहरा, छहरा मात्र उठ्यो ? गुराँस र डाँफेको स्थान मधेसको कमल, सलहेश र मयूरले किन लिन सकेन ? शासकहरूले जहाँ–जहाँ शासन गरे त्यहीँ मात्र राम्रो । पूर्व र मध्यपहाडको तुलनामा पश्चिमका पहाडहरू सुन्दर भनिएनन्, कारण पश्चिम जहिले पनि एकीकरणको विपक्षमा उभियो । मधेसको तुलनामा पहाड र हिमाल जहिले पनि सुन्दर नै रह्यो । हाम्रो राष्ट्रियतामा मधेसले अझै स्थान पाउँदैन । त्यस्तै पहाड र हिमालका मानिसहरू मधेसका शासक बनिरहे ।

मान्छेको सुन्दरताको भाष्यसमेत जातअनुसार फरक–फरक छ । कस्तो मान्छे राम्रो ? कस्तो नराम्रो ? कुन पोसाक राम्रो ? कुन नराम्रो भन्नेसमेत एकीकरणको भाष्यले निर्धारण गरेको छ । त्यसको मनोवैज्ञानिक पक्ष आजसम्म हाबी छ । भाष्यले हाम्रो मनोविज्ञानमा समेत बलियो जग हाल्न सफल भएको छ । संविधान र शासकीय स्वरूपमा परिर्वतन आए पनि मनोविज्ञानले त्यसलाई स्वीकार गर्न सक्दैन । किनभने, हाम्रो मनोविज्ञान निर्माणमा विगतका शासकहरूले निकै ठूलो लगानी गरेका छन् ।

अन्त्यमा, महेन्द्रले पञ्चायती व्यवस्था नलादेको भए नेपालको इतिहास अर्काे पाटोमा मोडिने देखिन्छ । पञ्चायतसँगै हामीले इतिहासको नजिक पुग्ने मौका गुमायौँ । पञ्चायती व्यवस्था रूपमा खराब र असफल भए तापनि एकीकरणको भाष्यलाई बलियो बनाउन भने सफल रह्यो । त्यसभित्र नेपालको इतिहास, कला, भाषा, साहित्यजस्ता पक्षहरू एक ढंगले पञ्चायती फ्रेमभित्र बस्न सफल भए । अरू पक्षमा सफल, असफल जे–जे भए पनि पञ्चायती व्यवस्था एकीकरणको भाष्यको जग बलियो बनाउनचाहिँ सफल बन्यो । 

इतिहासको पुनरावलोकन गर्दा राजा महेन्द्रले पञ्चायती व्यवस्था लाद्नुको मुख्य कारण नै एकीकरणको भाष्यलाई वैधानिकता दिनु थियो । त्यो यति बलियो जग रहेछ कि आजको गणतन्त्रमा समेत हल्लिएन । उल्टै एकीकरणको गुणगान गाउनेहरूको संख्या थपिएको छ । बनिबनाउ इतिहासलाई हेर्दा पृथ्वीनारायणले भन्दा महेन्द्रले एकीकरणलाई वैधानिकता दिन लागिपरेको प्रस्ट देखिन्छ । 

अर्कातर्फ, कविरामहरूको नागरिकताको प्रमाणपत्र हेर्दा, राज्यविस्तारको अभियान कुनै न कुनै ढंगबाट जारी छ । हामीले व्यवस्थामा गणतन्त्र ल्यायौँ, तर भाष्यमा गणतन्त्र ल्याउन सकेनौँ । समस्या व्यवस्था र अवस्थामा मात्रै होइन, भाष्यमा पनि छ भन्ने बुझाउन नयाँ व्यवस्थाले किन खोजेन ? भाष्य देशलाई निर्देशित गर्ने निर्देशिका हो । जसले कविरामहरूलाई ३३ वर्षसम्म मान्छे होइन, ‘कुकुर’ बनाइराख्यो ।

images
प्रकाशित मिति :कार्तिक ७, २०७९ सोमवार - ०८:१५:०४ बजे

देवराज गुरुङ

लेखक देवराज गुरुङ राजनितिक विश्लेषक हुन् भने इच्छाकामना न्युजका सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology