जीवन कैला, कोल्टी बाजुरा । पहिरोले बस्ती नै बगाएपछि बाजुराको हिमाली गाउँपालिका ४ बोर्ताका १ सय १३ घरपरिवार विस्थापित भएका छन् । सुरक्षित स्थान खोज्दै हिँडेका बोर्ताका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका र गर्भवतीसमेत एकसरो त्रिपालमुनि बस्न बाध्य भएका छन् ।
गत २१ गते बिहान आएको पहिरोले बोर्ता गाउँका ६ घर बगाएको थियो भने २० वटा घर चर्किएका छन् । अन्य घरमा समेत पहिरोको उच्च जोखिम भएपछि १ सय १३ परिवारका ३ सय ३२ जना महिला र ३ सय २९ जना पुरुष गरी ६ सय ६१ जना घर छोडेर अलि माथिको डाँडामा पुगेका छन् । उनीहरूले पाँच दिन यता बासदेखि खानासम्मको लागि समस्या भोगिरहेका छन् ।
६ सय ६१ जनालाई घामपानीबाट जोगिन जम्मा १३ वटा मात्रै त्रिपाल उपलब्ध हुँदा झनै समस्या भइरहेको स्थानीयवासी गणेश भण्डारीले बताउनुभयो ।
सबैका लागि सकसपूर्ण रहेको यो बसाइमा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र दीर्घरोगीलाई अझ बढी समस्या रहेको दीर्घरोगी प्रवजीत कार्कीले बताउनुभयो । पहिरोबाट जोगिन थातथलो छोडेर हिँडेका स्थानीय बासिन्दाले घरको अन्नपात, लत्ताकपडा र अन्य सामान लैजान पाएनन् ।
गाउँपालिकाले अहिलेसम्म कुनै राहत सामग्री नपु¥याएका कारण आपूmहरूलाई थप समस्या भएको उनीहरू बताउँछन् । हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले भने गाडी चल्ने सडक नपुगेको र ठाउँठाउँमा पहिरो खसिरहने भएकाले उद्दार र राहत वितरण गर्न समस्या भएको बताउनुभयो ।
झण्डै एक हप्तादेखिको झरीका कारण बाजुराका नौ वटै स्थानीय तहका बासिन्दा प्रभावित भएका छन् । त्यसमा पनि कुन्ना क्षेत्रका चारवटा स्थानीय तहमा बढी नोक्सानी भएको छ । दर्जनौँ बस्ती जोखिममा परेका छन् भने सयौँ स्थानीय बासिन्दा घर छोड्न बाध्य भएका छन् ।