भगवती न्यौपाने, कपिलवस्तु । कपिलवस्तु जिल्लामा स्वास्थ्य बीमा अभियानमा जोडिएर फाइदा लिने सर्वसाधारणहरू बढ्न थालेका छन् । नेपाल सरकारको १५ औँ पञ्च वर्षिय योजनामा मूलुकको कुल जनसङ्ख्याको ६० प्रतिशत परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गराउने भनिएको छ ।
त्यसैअनुसार जिल्लास्तरमा चलाइएको स्वास्थ्य बीमा अभियानबाट फाइदा लिनेहरू बढिरहेका हुन् । तर बीमा अन्तर्गत पाउनुपर्ने सबै सुविधा भने नपाएको गुनासो सेवाग्राहीको छ ।
सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम राम्रो भए पनि भने अनुसारको सेवा सुविधा नपाएको स्थानीयवासी राधेश्याम न्यौपानेले गुनासो गर्नुभयो । कपिलवस्तुमा २०७५ सालको जेठ महिनादेखि जिल्लाको पिपरा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो ।
त्यसअनुसार गएको असार मसान्तसम्म ५७ हजारभन्दा धेरैले स्वास्थ्य बीमा सेवा लिएका पिपरा अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम संयोजक कुलप्रसाद पन्थीले बताउनुभयो ।
स्वास्थ्य बीमा सेवा लिनेको सङ्ख्या बढेको भए पनि कर्मचारी अभावका कारण स्वास्थ्य संस्थाले माग अनुसारको सेवा दिन नसक्ने अवस्था छ ।
विपन्न र बृद्धावस्थाका नागरिकलाई रोग लागेमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत लाग्ने बीमाको प्रिमियम शत प्रतिशत सरकारले ब्यहोर्ने व्यवस्था छ । परिचय पत्रको आधारमा बीमा गरिसकेका सदस्यहरूले सरकारले तोकेको अस्पतालबाट वार्षिक १ लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्छन् ।