इच्छाकामना- चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको समन्वयमा शुक्रबार बालविवाह बिरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। हालैमात्र वडा नं ६ कालीखोला घर भएका ३ जना चेपाङ्ग वालिकाहरुले घरबाट भागेर बिवाह गरेको सूचना स्थानीय बाल क्लब मार्फत प्राप्त गरेपछि कालीखोलाका अगुवा चेपाङ्ग महिलाहरु वालवालिका स्थानीय वडाका जनप्रतिनिधि शिक्षक र गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र नेपाल प्रहरीको समेत उपस्थितिमा वालविवाह विरुद्धको एक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो। स्थानीय अगुवा चेपाङ्ग महिला पैरबी मञ्चलाई आयोजक बनाई गरिएको उक्त कार्यक्रमको इच्छाकामना गाउँपालिका महिला विकास शाखाले समन्वय गरेको थियो। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालको प्रमुख आतिथ्यमा सञ्चालन भएको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सूर्य बहादुर मगर, इच्छाकामना गाउँपालिका सामाजिक विकास समितिका संयोजक सावित्री गुरुङ्ग, वडा नं ६ का वडाध्यक्ष भुपेन्द्र चेपाङ्ग, वडा सदस्य राम बहादुर घर्तीले मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लम्सालले २० बर्ष उमेर नपुगी बिवाह गर्नु भनेको बालविवाह गर्नु हो। उमेर नपुगेका यस्ता वालवालिकाहरुको विवाह गर्ने गराउने कार्य गैह्र कानूनी कार्य भएकाले कानून बिपतिरको कार्य गर्न कसैलाई पनि छुट नभएको वताउनु भयो। यस्तो कार्यले बालवालिकाको खुशी खोस्ने, पढ्ने बढ्ने हाँस्ने साथीसँगीसँग खेल्ने सिक्ने र खुशी हुने समयमा नै व्यवहारिक बन्नु पर्ने, बाबुआमा बन्नुपर्दा बालकपनका खुशी सदाका लागि खोसिने र वालबच्चाको बाल अधिकारको हनन् हुने बताउनु भयो। नेपाल सरकारले सन् २०२० भित्र बालविवाह बिरुद्धको सार्थक प्रयास गर्ने र सन् २०३० सम्म बालविवाहको अन्त्य गर्ने भनी सन् २०१५ मा गरेको अन्तराष्ट्रिय सहमती अनुसार सबै व्यक्ति संस्था समुदायले उक्त लक्ष्य प्राप्तिका लागि पनि सहयोग गर्नुपर्ने वताउनु भयो। कार्यक्रममा उपस्थित २० जना चेपाङ्ग महिला पुरुष बीच परिचयका क्रममा गरिएको सर्वेक्षणमा १० जनाको वालक हुदैमा विवाह भएको पाइएको थियो। यो वडामा धेरै बालविबाह हुने गरेकोले सन् २०२० भरी टोल टोलमा बालविवाह विरुद्धको अभियान चलाईने वताउनु भयो।
चालु बर्षमा गाउँपालिकाले वाल लक्षित कार्यक्रमका लागि २९ लाख बजेट बिनियोजन गरेको पनि बताउनुभयो। प्रहरी निरीक्षक सूर्य बहादुर मगरले बाल विवाह हुन नदिन सबैले प्रयास गर्नुपर्ने बताउनुभयो यदि कसैले बालबिबाह गरेमा गर्ने गराउने ब्यक्तिहरुलाई ३ बर्षसम्म कैद वा १० हजार रुपैया जरिवाना वा दुवैसजाय हुने वताउनुभयो। यस्ता घटना हुनसक्ने संकेत बुझेमा वा भइरहेको थाहा पाएमा तुरुन्त खबर गरिदिन पनि अनुरोध गर्नुभयो। गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक सावित्री गुरुङ्गले वालविवाह सामाजिक विकृतिका रुपमा रहेको वताउदै गाउँपालिकाले वालविवाह र बहुविवाहका बिरुद्धको सचेतीकरण अभियान चलाउदै आएकोले केही हदसम्म न्यूनिकरण भएपनि पूर्णरुपमा रोक्न नसकिएको वताउनु भयो। जबसम्म घरघर र समुदायबाट सहयोग हुदैन तबसम्म यस्तो कार्य नरोकिने भएकाले सबैले सहयोग गरिदिन आह्वान गर्नुभयो । वडा नं ६ का वडाध्यक्ष भुपेन्द्र चेपाङ्गले आफ्नो वडाभरी वाल विवाह व्याप्त रहेको वताउदै जति सचेतना गरेपनी कडा कार्यवाही नगरेसम्म यो कार्य नरोकिने वताउनु भयो। हालैमात्र ३ जना वालिकाले भागि विवाह गरेको वताउदै अधिकांश चेपाङ्ग वालिकाहरुको वालविवाह हुने गरेको छ। उमेर नपुगि बिवाह गर्ने अनि विवाह दर्ता गरिदिन र पति कायम गरी नागरिकता सिफारिश गरिदन पटक पटक दबाब आउने गरेको वताउनु भयो। स्थानीय देवीभन्ज्याङ्ग आधारभुत विधालय कालीखोलाको हलमा सम्पन्न उक्त कार्यक्रममा अगुवा चेपाङ्ग महिला पैरबी मञ्चका अध्यक्ष विमला चेपाङ्गको अध्यक्षता रहेको थियो।