जलबिरे । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ का बाख्रापालक किसानलाई बिउपूजीको स्वरुप बाख्रा वितरण गरिएको छ । इच्छाकामना गाउँपालिका वडा नं. ६ को समन्वयमा फरवार्ड नेपाल संस्थाद्वारा जलविरेमा मगलबार एक कार्यक्रमको आयोजना गरि बिउ बाख्रा वितरण गरेको हो ।
वडा नं. ६ का वडाध्यक्ष लक्ष्मण चेपाङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न बिउ बाख्रा वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज खत्री र फरवार्ड नेपालका परियोजना संयोजक ऋषि केसीको समेत उपस्थिति रहेको थियो ।
बाख्रा वितरण कार्यक्रमलाई सम्बोन्धन गर्दै पहिलो चरणमा २९ घर परिवारलाई प्रति परिवार २ वटा बिउ बाख्राको बितरण गरिएको फरवार्ड नेपालका परियोजना संयोजक ऋषि केसीले बताउनुभयो । साथै संस्थाले गाउँपालिकाको वडा नं. ६ मा मात्रै १२० वटा बिउ बाख्रा गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज खत्रीले विपन्न परिवारका लागि जिविकोपार्जनमा टेवा पुर्याउने भएकोले सही सदुपयोग गरि बाख्रापालन गर्न किसानहरुलाई अनुरोध गर्नुभयो भने बिउ बाखा्रा उपलब्ध गराउने फरवार्ड नेपाललाई धन्यवाद ज्ञापन गर्नुभयो ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिकाले बाख्रापालक किसानका लागि प्रोत्साहनका लागि थुप्रै कार्यक्रमहरु संचालन गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाले पछिल्लो समय ५० प्रतिशत भन्दा बढिको अनुदानमा सुधारिएको बाख्राको खोर निर्माण गर्नेदेखि ८० प्रतिशतसम्मको अनुदानमा बिउ बाख्रा वितरण गर्नेसम्मको काम गरिएको बताउनुभयो । साथै यो कार्यले स्थानीय किसानको आयआर्जनमा सघाउ पुर्याउने हुदाँ दत्तचित्त भएर बाख्रापालन गर्न किसानहरुलाई आग्रह गर्नुभयो ।