ममता भट्ट, डडेलधुरा । सुदूरपश्चिम प्रदेशभित्र ४७ प्रतिशत कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुग्न सकेको छैन । सेती, महाकाली र कर्णालीजस्ता ठूला नदीहरू भएर पनि सिँचाइका लागि तीन तहका सरकारको ध्यान नपुगेको किसानहरूको गुनासो छ । प्रदेशको झण्डै आधा खेतीयोग्य जमिनमा सिँचाइ विस्तार हुन नसक्दा कृषि उत्पादनमा कमी आइरहेको छ ।
बैतडीको पाटन नगरपालिका ४ का जानकी भट्टले वर्षातको समयमा पानी पर्ने हँुदा मकै बाली हुने भए पनि अन्य समयमा खेत बाँझै राख्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशमा अहिले एक लाख ८१ हजार हेक्टर क्षेत्रफलमा धान र ८५ हजार हेक्टरमा गहुँ खेती हुँदै आएको छ ।
सुदूरपश्चिमका झण्डै ४७ प्रतिशत किसान अहिले पनि आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् । प्रदेशभर कुल सिँचित क्षेत्रफलमध्ये ७ दशमलव ३५ प्रतिशत भूभागमा कुलो र २५ प्रतिशत भूभागमा नहरबाट सिँचाई सुविधा विस्तार भएपनि पोखरी, बोरिङ तथा थोपा प्रणालीबाट नगन्य मात्रामा सिँचाई भएको तथ्याङ्क छ।
पहाडी क्षेत्रमा निकै न्यून मात्रमा सिँचाइ सुविधा भएपनि तराईका कैलाली कञ्चनपुरमा समेत सिँचाइ सुविधा विस्तार हुन सकेको छैन । जसको कारण प्रत्येक वर्ष कृषियोग्य जमिनको क्षेत्रफल समेत खुम्चिदै गएको छ । सुदूरपश्चिम प्रदेशभित्र कुल ३ लाख २२ हजार हेक्टर खेतीयोग्य जमिन छ।खेतीयोग्य जमिनको ५३ दशमलव ३ प्रतिशत भू–भागमा मात्र सिँचाइ सुविधा पुगेको छ।
आंशिक रुपमा २५ दशमलव २ प्रतिशत र २८ दशमलव १ प्रतिशत भू–भागमा वर्षभरि सिँचाइ सुविधा पुग्ने गरेको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयको तथ्याङ्क छ। सेती, कर्णाली र महाकाली जस्ता ठूला नदी यहि प्रदेश भएर बग्छन् ।
रानी–जमरा–कुलरिया सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना जस्ता राष्ट्रिय गौरवका आयोजना सञ्चालनमा भएपनि आयोजनाको काम निर्माणकै चरणमा छ। सिँचाई विस्तारको नाममा हरेक वर्ष तीनै तहका सरकारले बजेट छुट्याए पनि नीति, कार्यक्रम र बजेटअनुसार काम हुन नसक्दा समस्या भएको सरोकारवाला बताउँछन् ।