काठमाडौँ ।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयबाट ३९ सदस्यीय अस्पताल अनुगमन समिति गठन गरी अनुगमन भइरहेको बताउनुभएको छ ।
उहाँका अनुसार अस्पतालमा लामो समय लाइन बस्नुपर्ने अवस्था न्यूनीकरण गर्न अनलाइन टिकट, टोकन व्यवस्थापन, डिजिटल सेवा तथा आवश्यकताअनुसार द्रुत सेवा विस्तारका लागि सम्बन्धित अस्पतालसँग समन्वय गरी काम भइरहेको छ । गत असार दोस्रो साता सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, मानसिक अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल तथा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतका अस्पतालमा स्थलगत अनुगमन गरिएको मन्त्री मेहताले जानकारी दिनुभयो ।
अनुगमनमा विशेषगरी टिकट तथा टोकन प्रणाली, बिरामीको चाप, प्रतीक्षा समय, सेवा प्रवाह र सञ्चालनको अवस्था हेरिएको थियो । नियमित समयबाहेक थप समयमा सेवा उपलब्ध गराई बिरामीको चाप व्यवस्थापन गर्ने उद्देश्यले सेवा सञ्चालन तथा विस्तारलाई मन्त्रालयले प्राथमिकताका साथ अघि बढाएको छ । यसका लागि गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा रोशन न्यौपानेलाई लक्षित वर्गका लागि १० प्रतिशत निःशुल्क श्यया व्यवस्थापनको सम्पर्क व्यक्ति तोकिएको छ ।
मन्त्री मेहताका अनुसार हाल राष्ट्रिय ट्रमा सेन्टर, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, मानसिक अस्पताल, भरतपुर अस्पताल, नारायणी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, डडेल्धुरा अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालमा विस्तारित स्वास्थ्य सेवा ९इएचएस० सञ्चालनमा रहेको छ ।
वीर अस्पतालमा इएचएस सञ्चालनसम्बन्धी कार्यविधि तयार भइसकेको मन्त्री मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यविधि भोलि बस्ने कार्यकारिणी परिषद्को बैठकबाट स्वीकृत गरी कार्यान्वयनमा लैजाने तयारी गरिएको छ । इएचएस सञ्चालन नभएका अन्य अस्पतालसँग पनि आवश्यक समन्वय गरी सेवा विस्तारको प्रक्रिया अघि बढाइएको मन्त्री मेहताले बताउनुभयो ।
अनलाइन तथा डिजिटल सेवा विस्तार, फास्ट ट्रयाकको व्यवस्था, अस्पतालको नियमित अनुगमन र इएचएसको विस्तारमार्फत बिरामीको चाप तथा प्रतीक्षा समय घटाई सङ्घीय अस्पतालको सेवा प्रवाहलाई थप सहज, छिटो र सेवाग्राहीमैत्री बनाउने गरी मन्त्रालयले काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । रासस