काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब रु दुई खर्ब बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च रु एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख बराबर छ । जुन वार्षिक लक्ष्यको नौ दशमलव ४१ प्रतिशत हुन आउँछ ।
कार्यालयका अनुसार सरकारले चालु शीर्षकमा हालसम्म नौ दशमलव छ प्रतिशत बजेट खर्च गरेको छ । यो शीर्षकमा चालु आर्थिक वर्षका लागि रु १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा रु एक खर्ब २२ अर्ब तीन करोड ५४ लाख खर्च भएको हो । त्यस्तै, पुँजीगत शीर्षकमा रु चार खर्ब ३१ अर्ब १० करोड ६३ लाख बजेट विनियोजन भएकोमा हालसम्म वार्षिक लक्ष्यको एक दशमलव ७८ प्रतिशत अर्थात् रु सात अर्ब ६६ करोड ४८ लाख मात्रै खर्च भएको कार्यालयको तथ्यांकबाट देखिन्छ ।
वित्तीय व्यवस्था शीर्षकको हालसम्मको बजेट खर्च १६ दशमलव ५९ प्रतिशत छ । यो शीर्षकमा चालु आर्थिक वर्षका लागि रु चार खर्ब २२ अर्ब ६४ करोड ९१ लाख विनियोजन भएकोमा भदौ मसान्तसम्ममा रु ७० अर्ब १३ करोड ७० लाख बराबर खर्च भएको देखिएको हो ।