निशु जोशी, नेपालगञ्ज । पर्याप्त पानी नपर्दा नेपालगञ्जको नरैनापुर क्षेत्रका धान फल्ने खेतमध्य १५ प्रतिशत स्थानमा पनि रोपाईं भएको छैन । यसपटक उत्पादन घट्ने र भोकमरी हुनसक्ने डरले नरैनापुरका युवाहरू भारत प्रस्थान गरिरहेका छन् । यो समयमा नरैनापुरमा हरियाली हुन्थ्यो ।
धान गोड्न ठिक्क परेका हुन्थे । तर यसपटक धान फल्ने खेतमध्ये १५ प्रतिशत स्थानमा पनि रोपाईं भएको छैन । धान रोपिएको खेतमा पनि खडेरीका कारण बोटै मर्ने अवस्था आएको वडा नम्बर ६ सोनवर्षाका किसान ओमकार पासीले बताउनुभयो ।
बाँके जिल्लामा अन्य पालिकामा हरियाली छ भने भारतीय सिमाक्षेत्रमा समेत पानी पर्छ । तर नरैनापुरमा यसवर्ष खेत भिजाउने गरि पानी नै नपरेको हो ।
नरैनापुरमा सिँचाई सुविधा नहुुँदा आकाशे पानीको भरमा रोपाईं हुने गरेको छ । यस्तो अवस्था आएपछि गाउँका युवाहरू रोजगारीको लागि भारत पस्ने तयारीमा रहेका छन् ।
नरैनापुरमा १ हजार हेक्टर क्षेत्रफलमा धान खेति हुने गरेकोमा यसपटक १५ प्रतिशतमा धान रोपिएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पालिकाभित्र देखिएको पानीको समस्या तत्काल समाधानको लागि हरेक वडामा डिप बोरिङ सञ्चालन गर्ने, किसानहरूको समस्या समाधानका लागि प्रदेश र सङ्घ सरकारसँग आग्रह गर्ने बताउनुभयो ।
५ वर्ष अघि डुबानमा परेको नरैनापुर यसवर्ष सुख्खा क्षेत्रमा परिणत भएको छ । गाँउपालिकाले पालिकालाइ सुख्खा क्षेत्र घोषणा गरिसकेको छ भने खडेरी प्रभावित किसानहरूलाई मालपोतमा ८० प्रतिशत कर छुट, विद्युत महसुल निः शुल्क दिने निर्णय पनि भएको छ ।