भगवति न्यौपाने, कपिलवस्तु । लुम्बिनी प्रदेशमा अल्पसङ्ख्यक नटुवा समुदायले आफूहरूलाई लोपोन्मुख समुदायमा राख्नुपर्ने माग गरेका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा १८ घरधुरीमा दुई सयभन्दा बढी नटुवा समुदायको बसोबास छ ।
राज्यले लोपोन्मुख जातीको सूचीमा नराख्दा आपूmहरू थुप्रै सेवा सुविधाबाट बञ्चित हुनु परेको नटुवा समुदायका एकजना अगुवा गुगे नटुवाले बताउनुभयो ।
यो समुदायले स्थानीय सरकार हुँदै केन्द्रसम्म पुगेर आफ्नो जातीलाई लोपोन्मुख जातीको सूचिमा राख्नुपर्ने भन्दै ध्यानाकर्षण गराउँदै आएका छन् । तर माग सुनुवाई नहुँदा मासिक भत्ता पाउनबाट बञ्चित हुनुपरेको कृष्मावती नटुवाको गुनासो छ ।
कमजोर आर्थिक अवस्थाका कारण आधारभुत शिक्षाको अधिकारबाट कतिपय बालबालिका बञ्चित भएपनि पछिलो समय नटुवा समुदायबाट विद्यालय जानेको सङ्ख्या बढेको छ ।
शुद्धोधन गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष तिलकराम यादवले नटुवा बस्तीलाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने बताउनुभयो ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ प्रगतिनगरमा १८ घरपरिवारमा दुई सय बढी नटुवाको बसोबास छ । राज्यबाट सहयोग नपाएकै कारण उनीहरू चरम गरिबीको अवस्थाबाट गुज्रिरहेका छन् ।