पवित्रा पराजुली, नवलपरासी । नवलपुरको मध्यविन्दु नगरपालिकाले ज्येष्ठ नागरिकको लागि स्वास्थ्य परीक्षण कार्यक्रम शुरुवात गरेको छ । नगरपालिकाको समन्वयमा स्वास्थ्यकर्मिहरूले ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकहरूलाई घरमै गएर स्वास्थ्य परीक्षण गर्ने भएपछि ज्येष्ठ नागरिकहरू खुसी भएका छन् ।मध्यविन्दु नगरपालिकाले अशक्त र ज्येष्ठ नागरिकको सहजताको लागि यो कार्यक्रम सञ्चालन गरेको हो ।
स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी घरमै आउने भएपछि घण्टौ लगाएर स्वास्थ्य संस्था जानुपर्ने झन्झट हट्ने तथा समय र पैसाको समेत बचत हुने ७४ वर्षका नारायण प्रसाद कंडेलले बताउनुभयो। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार प्रत्यक महिना घरघरमा निशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम अनुसार नगरको १५ वटै वडामा एकसाथ कार्यक्रको शुरुवात गरिएको छ ।
यसको लागि ७ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिने ७० वर्ष पुरा भएका दुइ हजार ९ सय ४१ जना ज्येष्ठ नागरिक रहेका छन् । यसबाट ज्येष्ठ नागरिकहरू लाभान्वित हुने मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले बताउनुभयो ।