बटुकनाथ झा, धनुषा । मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले नेपाल प्रहरीलाई अनुसन्धान गर्न सघाउन फोरेन्सीक ल्याब स्थापना गर्ने बताउनुभएको छ ।
एक कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री साहले प्रहरीलाई शान्ति सुरक्षाका लागि सवारी साधन, विपद व्यवस्थापनका लागि सामग्री उपलब्ध गराएको समेत बताउनुभयो । उहाँले सो अवसरमा आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा मर्यादित बनाउन प्रहरी सङ्गठनको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले मधेश प्रदेशमा साइबर अपराध तथा आर्थिक अपराध बढेकाले यसको मुद्दा दर्ता प्रदेशस्तरमै हुनुपर्ने बताउनु भएको थियो ।
प्रहरी महानिरीक्षक सिंहले अपराध अनुसन्धानको सवालमा अनुसन्धान गर्ने, अभियोजन गर्ने र न्याय निरुपण गर्नेकाबीच कहिलेकाहीँ एक अर्कालाई आक्षेप लगाउने काम हुने गरेको भन्दै तीन वटै तहका बीचमा समन्वय र सहकार्य राम्रो हुनु पर्ने धारणा राख्नुभएको थियो ।
सो कार्यक्रममा नेपाल प्रहरीका केन्द्रिय अनुसन्धान ब्युरो प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले नेपालमा अपराधको प्रकृति र प्रवृत्ति फरक भएको बताउनुभयो ।