Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनका २४३ जनामा डेङ्गु र २८६ जनामा स्क्रब टाइफस देखियो

चितवनका २४३ जनामा डेङ्गु र २८६ जनामा स्क्रब टाइफस देखियो

रासस

१०, पौष २०७७
चितवनका २४३ जनामा डेङ्गु र २८६ जनामा स्क्रब टाइफस देखियो
images

चितवन, १० पुस । जिल्लाका अस्पतालमा उपचार गर्न आएकामध्ये २ सय ४३ जनामा डेङ्गु र २ सय ८६ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । गत साउनयता विभिन्न अस्पतालमा उपचार गर्न आएका उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

images
images

डेङ्गु संक्रमितमध्ये चितवनका मात्रै १ सय ४९ र बाहिरी जिल्लाका ९४ जना छन् । डेङ्गुका सबै बिरामीको अवस्था सामान्य देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा डेङ्गुको संक्रमण दर गत वर्षभन्दा यस वर्ष कम छ । गत आर्थिक वर्षमा चार हजार ८ सय ३ जनामा डेङ्गु संक्रमण देखिएको थियो । तीमध्ये तीन जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख दीपक तिवारीले यस वर्ष डेङ्गु र स्क्रब टाइफस दुवैको जोखिम नरहेको जानकारी दिए । उनका अनुसार गत वर्ष रोकथामको काम प्रभावकारी भएकाले यस वर्ष कम संक्रमित भेटिएका हुन् । लकडाउनका समयमा चार÷पाँच महिना मानिस घरभित्रै बसेकाले पनि यसको संक्रमण दर बढ्न नपाएको उनले बताए ।

डेङ्गुले हरेक तीन÷तीन वर्षमा महामारीको रुप लिने बताइएको छ । जिल्लामा गत वर्ष नै डेङ्गुले महामारीको रुप लिएकाले यस वर्ष संक्रमण दर कम भएको कार्यालय प्रमुख तिवारीको भनाइ छ । डेङ्गु नियन्त्रणका लागि स्थानीय तहले पनि सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

यसैगरी हालसम्म जिल्लाका अस्पतालमा आएका बिरामीमध्ये २ सय ८६ जनामा स्क्रब टाइफस संक्रमण भेटिएको छ । तीमध्ये चितवनका मात्रै १ सय ४९ तथा जिल्ला बाहिरका १ सय ३७ जना छन् । स्क्रब टाइफसको पनि जोखिम नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत आबमा १ सय २७ जनामा संक्रमण देखिएको तथा दुई जनाको मृत्यु भएको थियो । यस वर्ष एक जनाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी गीताञ्जली ढकालले जानकारी दिइन् ।

मुसाको शरीरमा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस रोग लाग्छ । खेतबारीमा एवं विशेषगरी घरबाहिर काम गर्ने व्यक्तिमा सो रोग लाग्ने उनले जानकारी दिइन् । रोग गर्मी र वर्षाका समयमा देखिन्छ । किर्नाले टोकेको सामान्यतया पाँचदेखि २० दिनभित्र सो रोगको लक्षण देखिन थाल्छ । यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेका ठाउँमा घाउ हुने, कमलपित्त हुने र पेट दुख्ने लक्षण देखिने कार्यालयले जनाएको छ । 

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - १७:०७:३६ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology