भुवन रायमाझी, पाल्पा । कालीगण्डकी कोरिडोर अन्तरगत गैँडाकोट राम्दी माल्ढुङ्गा सडक निमार्णले तीव्रता पाएको छ । अन्तर्राष्ट्रिय हिसाबले समेत महत्वपूर्ण मानिएको गैँडाकोट राम्दी माल्ढुङ्गा कोरिडोरले नवलपरासीको गैँडाकोटदेखि तिब्बतको कोरलासम्म जोड्छ ।
यो कोरिडोरको काम हालसम्म पाल्पा क्षेत्रमा ९० प्रतिशत सम्पन्न भएको छ । गण्डकी र लुम्बिनी प्रदेशसहित ९ वटा जिल्ला हुँदै चीनको कोरला नाका जोड्ने भएकाले यो सडकलाई विकासको मेरुदण्डको रूपमा हेरिएको छ । यो सडक सञ्चालनमा आएपछि सहजता बढ्ने नागरिकको अपेक्षा रहेको छ ।
चीन र भारतसँग जोड्ने कालीगण्डकी कोरिडोरको निर्माण भएपछि व्यापारमा सहजता हुने विश्वास गरिएको छ । भने उपभोग्य सामग्रीहरू सहजै ल्याउन सकिने भएकाले महङ्गी कम हुने तथा आर्थिक विकासमा टेवा पुग्ने विश्वास पनि नागरिकमा छ । तर, नवलरासीदेखि पाल्पा क्षेत्रमा यो करिडोर पूर्ण रूपमा सम्पन्न हुनको लागि कम्तिमा दुई वर्ष लाग्ने देखिएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहको कालीगण्डकी कोरीडोर अन्तर्गत विभिन्न भागहरूमा नेपाली सेना र सडक विभाग मार्फत ट्र्याक खोल्ने, नाली तथा पुल बनाउने र कालोपत्रे गर्ने काम भइरहेको छ ।
कालीगण्डकी कोरिडोर अन्तर्गत गैँडाकोट राम्दी माल्ढुङ्गा सडकमा पुल र सडक गरेर ३१ वटा ठेक्का चालु अवस्थामा रहेको आयोजनाका इन्जिनियर पबित्रमणी आचार्यले जानकारी दिनुभयो । कालीगण्डकी करिडोर अन्तर्गतको सडक दुई लेनमा निर्माण भइरहेको छ । सडक निर्माणको काम सम्पन्न भएपछि त्रिदेशीय पर्यटन तथा आर्थिक विकासलाई टेवा पुग्ने विश्वास लिईएको छ ।