माओवादी नेता समेत रहेका तिमल्सिनाले भने, ‘देशको मध्यभाग, हिजो जनयुद्धमा त्याग गरेको क्षेत्र पनि हो । यस पटक स्थानीय तह निर्वाचनमा पहिचान राख्न पनि सफल भएको हो ।’ ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गोरखाका ११ स्थानीय तहमध्ये ९ वटाको नेतृत्व माओवादीले जितेको थियो ।
माओवादीका पूर्वनेता डा. बाबुराम भट्टराईको घर गोरखाको क्षेत्र नम्बर २ मा पर्छ । उनी २०७४ सालमा गोरखा क्षेत्र नम्बर २ बाटै निर्वाचित भएका थिए । माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठको घर पनि गोरखा क्षेत्र नम्बर २ मा नै पर्छ ।
गोरखा क्षेत्र नम्बर १ बाट २०५६ सालसम्म नेपाली कांग्रेसका नेता चिरञ्जीवी वाग्ले निर्वाचित हुँदै आएका थिए । २०६४ सालमा माओवादी केन्द्रकी पार्वती थापा र २०७० मा डा. बाबुराम भट्टराई निर्वाचित भए । नयाँ संविधान बनेपछि गोरखामा जम्मा २ वटा क्षेत्र बन्यो र २०७४ को चुनावमा क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका हरि अधिकारी निर्वाचित भएका थिए ।
हाल सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य रहेका अधिकारी प्रचण्ड आए आफू धेरै खुशी हुने बताउँछन् । ‘मैले जितेकोभन्दा उहाँ आउँदा हजार गुणा खुशी हुन्छु,’ माओवादी पोलिट्व्यूरो सदस्य अधिकारी भन्छन्, ‘उहाँ कहाँबाट उठ्ने भन्ने पार्टीले डिसिजन गर्ने कुरा हो, हामीले गोरखा १ बाट चाहेका हौं । यो हाम्रो निम्ति ठूलो अवसर हुन्छ ।’
गोरखा क्षेत्र नम्बर १ सँग प्रचण्डको भावनात्मक सम्बन्ध रहेको पनि अधिकारीले बताए । प्रचण्डले यो निर्वाचन क्षेत्रमा पर्ने आरुघाटस्थित भीमोदय माध्यमिक विद्यालयमा २०३३ सालमा शिक्षकको रुपमा काम गरेका थिए । गोरखा क्षेत्र नम्बर १ मा माओवादीको जनमत राम्रो भएको मानिन्छ । यो क्षेत्रमा पर्ने ७ स्थानीय तहमध्ये ६ वटाको नेतृत्व माओवादी केन्द्रले नेतृत्व जितेको छ ।
नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखबहादुर थापाले अध्यक्ष प्रचण्ड गोरखा आए जिल्लाको विकास निर्माणमा ठूलो फाइदा हुने बताए । ‘अध्यक्ष आउनुभयो भने हामी सबैको लागि खुशीको कुरा हो’ उनले भने, ‘तर औपचारिक रुपमा केही कुरा भएको छैन ।’ अनलाइन खबरबाट








