आँबुखैरेनी । नेकपा एमालेका युवा नेता महेश बस्नेतले नेपाली जनताको बिचमा नेकपा एमाले प्रतिको आकर्षण कत्ति पनि नघटेको बताएका छन्। शनिबार तनहुँको आँबुखैरेनीमा स्थानीय पार्टी कमिटिले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोन्धन गर्दै नेपाली जनताहरु माझ एमालेको आकर्षण नघटेको बताएका हुन्।
कार्यक्रमलाई सम्बोन्धन गर्दै नेता बस्नेतले स्थानीय तह निर्वाचनमा आँबुखैरेनीमा पार्टीले सोचे झै परिणाम ल्याउन नसकेकोमा स्थानीय कार्यकर्तामा केहि निरासा देखिए पनि समग्र रुपमा हेर्दा नेकपा एमालेप्रति जनताको आकर्षण अझ बढेकोले निराश हुनुपर्ने अवस्था नरहेको बताए।
‘जनताले अहिले पनि एमालेलाई राष्ट्रवादी पार्टीको रुपमा चिन्ने गरेको छ, यो कुरा तपाई हामी सबैले मन मस्तिष्कमा लिएर जनताको घरदैलोमा जाऔं, आगामी संघ र प्रदेशको निर्वाचनमा एमालेको जित निश्चित छ’ –उनले भने ‘एमालेले हारे राष्ट्रले हार्ने भएकोले एमालेलाई कुनै पनि बहानामा हार्ने छुट छैन र जनताले जसरी पनि जिताउछ ढुक्क हुनुस्।’
यस्तै उनले प्रधानमन्त्री शेर बहादुर देउवाका पत्नि आरजु राणा प्रति इंगित गर्दै यो सरकार गठबन्धनको सरकार भएपनि जनताले अचेल भाउजुको सरकार भन्न थालेको बताए। ‘अचेल भाउजुले जे भन्यो त्यहि हुन्छ, त्यसैले जनताले यो सरकारलाई गठबन्धनको हैन भाउजुको सरकार भन्ने गरेको छ’ –उनले भने ।