निशु जोशी, नेपालगन्ज । नेपालका चार हजारभन्दा बढीले सिकलसेल र करिब एक हजार मानिसले थालेसेमियाको उपचार गराइरहेको पाइएको छ । बाँके, बर्दिया, दाङलगायतका तराईका जिल्लामा यी रोगका बिरामी बढी छन् ।
उस्ताउस्तै प्रकृतिका सिकलसेल र थालेसेमिया रोगले सबैभन्दा बढी पश्चिम तराईका थारु समुदाय प्रभावित छन् । जुनसुकै समुदायमा देखिने भएपनि यो रोग हाल थारु समुदायमा बढी देखिएको छ । सरकारले सिकलसेल भएका बिरामीलाई एक लाख बराबरको उपचार निःशुल्क गरे पनि थालेसेमियाका बिरामीहरूले यो सुविधा पाएका छैनन् ।
थालेसेमिया रोगका कारण ५ वर्षको छोराको पनि मृत्यु भएको बर्दिया राजापुरका ४० वर्षका मुन्नी थारुले बताउनुभयो । श्रीमान र २ छोरीलाई यो रोग लागेको भए पनि आर्थिक अभावका कारण हाल छोरीहरूको मात्र उपचार गराइरहेको मुन्नीको भनाइछ । सिकलसेल र थालेसेमियाका बिरामीमा हात खुट्टा, शरिर दुख्ने, जण्डीस हुने, रक्तअल्पतालगायतका प्रमुख लक्षण देखिन्छन् । यस्ता समस्या लिएर भेरी अस्पतालमा आउने बिरामी दिनहुँ भेटिने गरेका छन् ।
जटिल अवस्थामा पुगेका बिरामीलाई परिवारले नै स्याहारसुसारमा पर्याप्त समय दिनेदेखि सम्पुर्ण उपचार खर्च बेहोर्नुपर्ने हुन्छ । अबका पुस्ताले रगत जाँच गरेर विवाह गरेमात्र यो रोगबाट बच्न सकिने भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन एवम् सिकलसेल फोकलपर्सन डा. राजन पाण्डेले बताउनुभयो ।
भेरी अस्पतालमा हाल करिब नौ सय जना सिकलसेलका बिरामीले निशुल्क उपचार गराइरहेका छन् । आफ्नै खर्चमा उपचार गर्ने भएकाले थालेसेमियाका बिरामीको यकिन तथ्याङ्क छैन । यी दुबै रोग फैलन नदिन समुदायलाई सचेत बनाउने काममा स्थानीय सरकारको पनि महत्वपुर्ण भुमिका हुने डाक्टरहरूको भनाई छ ।