काठमाण्डौ, ५ पुस । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनको विरोध गरेको छ । प्रतिनिधिसभा विघटनको कार्यलाई जसपा नेपालले असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै त्यसको विरोध गरेको हो ।
जसपा नेपालले सम्पूर्ण पार्टीपंक्ति र आमनागरिकलाई सो कदमको प्रतिवाद गर्न आह्वान समेत गरेको छ । यसको बारेमा पार्टीले बैठक बसेर थप निर्णय गर्ने जानकारी गराउँदै पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्था माथि गरिएको गम्भीर प्रहार रहेको टिप्पणी गरेका छन् । उनीहरुले यो अधिनायकवाद र निरकुंशताको पराकाष्ठा रहेको पार्टीले ठहर गरेको जानकारी गराएका छन् ।