Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

वेथिति

जिल्ला समन्वयको सरकारी जग्गा हडपेर माओवादी निकट कर्मचारी संगठनले बनायो भवन

जिल्ला समन्वयको सरकारी जग्गा हडपेर माओवादी निकट कर्मचारी संगठनले बनायो भवन

images

इच्छाकामना न्युज

१२, श्रावण २०७९
जिल्ला समन्वयको सरकारी जग्गा हडपेर माओवादी निकट कर्मचारी संगठनले बनायो भवन
images

चितवन । माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी संगठनले सरकारी जग्गा हडपेर भवन निर्माण गरेको छ । जिल्ला समन्वय समिति (जिसस) चितवनको स्वामित्वमा रहेको जग्गामा संगठनले जबरजस्ती भवन निर्माण थालेको हो ।

सरकारी जग्गा कर्मचारी संगठनले जबरजस्ती हडपेपछि जिसस अदालत जाने तयारीमा छ । तत्काल निर्माण कार्य रोक्न माग गर्दै अदालत जाने तयारी भइरहेको जिसस चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले जानकारी दिए । सरकारी जग्गामा संगठनले मनोमानी ढंगबाट आफ्नो संरचना निर्माण गरिरहेको उनले बताए ।

यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख विनोद पौडेलले जग्गा प्राप्तिको प्रक्रियामा नै रहेकाले संरचना निर्माणमा रोक लगाउन नसकिएको बताए ।

‘हामीलाई यहाँ गाडी पार्किङको मुख्य समस्या भएर जिससको भवनमा सर्न लागेका हौँ । त्यहाँ पनि कर्मचारीको संगठनले आफ्नो संरचना बनाएपछि हामीलाई समस्या कायमै हुनेभयो’, उनी भन्छन्, ‘हामीले सम्झौता गरेर लिइएको जग्गा हो । यस बारेमा सिडियो, महानगर र मन्त्रालयसम्म मौखिक कुरा राखियो, पहल कतैबाट भएन ।’

यातायात कार्यालयले अहिले मासिक ९० हजार रुपैयाँ भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको छ । भाडाको कार्यालय साँघुरो भएकाले पार्किङदेखि सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को सेवा सुरु गर्ने तयारीमा रहेको कार्यालयलाई अहिले सेवा दिँदै आएको भाडाको कार्यालयबाट सेवा दिन कठिन छ ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष प्रेम ढकालले एमाले र कांग्रेस निकटका कर्मचारी संगठनको सरकारी जग्गामा कार्यालय रहेकाले आफुहरुले पनि कार्यालय बनाउन लागिएको बताए ।

‘अरु संगठनले त भवन नै कब्जा गरेका छन् । हामीले कार्यालय बनाउने भनेर पाँच वर्ष अगाडि नै बोर्ड राखेका थियौँ’, उनी भन्छन्, ‘जबरजस्ती गरिएको होइन ।’

सरकारी स्वामित्वको जग्गामा सहमति विना संरचना बनाउन लागेको स्वीकार गर्दै उनले अरु संगठनले कार्यालय बनाएकाले आफ्नो संगठनले पनि बनाउन लागेको बताए । कानुनी अड्चन आए सोहि अनुसार अघि बढ्ने उनले बताए ।

images
प्रकाशित मिति :श्रावण १२, २०७९ बिहिवार - १०:३८:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology