उपर्दाङ्गगढी, ४ पुस । चितवनको इच्छाकामना गाउँपालिकाले आन्तरकि पर्यटन प्रवद्र्धनका जिल्लाको पुरानो सदरमुकाम एवं ऐतिहासिक गढी उपर्दाङ्गगढीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। शुक्रबार जनप्रतिनिधि विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीयबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले पर्यकटीय स्थलहरुमा जथाभावी भौतिक संरचना बनाउँदा पर्यटकीय स्थलको वास्तविकता मेटीने बताएका थिए । उपर्दाङ्गगढी पर्यटन विकास समितिका अध्यक्ष रुपेन्द्र कर्मचार्यले हचुवाको भरमा भौतिक संरचना निर्माण गर्दा पर्यटकीय स्थलको शोभा विग्रिने बताउनुभयो । उहाँले सम्बन्धित पुरात्वात्तिक विभागका इन्जिनियरबाट यहाँ विकासका लागि गुरुयोजना तयार पार्नुपर्ने बताउनुभयो । उपर्दाङ्गगढीसंगै रहेको चिसापानीगढीमा ३०० प्रजातीको चरा पाउने भएकाले यहाँ पर्यटकहरु चरा हेर्न र रिसर्च समेत गर्न आउनेको गरेको उहाँले बताउनुभयो । उहाँले जथाभावी सडक निर्माण गर्दा जंगल मासिनुका साथै खानेपानीको मुहानमा समेत असर पर्ने चिन्ता व्यक्त गर्नुभयो ।
बागमती प्रदेश उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष तथा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भोजराज दुवाडीले यहाँ निर्माण भएको भौतिक संरचना निर्माण गर्दा सम्बन्धित विज्ञहरुको सहभागितामा मास्टर प्लान बनाएर मात्र भौतिक संरचना निर्माण गर्न आग्रह गर्नुभयो । उहाँले यहाँ निर्माण गरिएको सिढीँ अग्लो रहेको बताउनुभयोे । यहाँको पर्यटन प्रवद्र्धनका लागि उद्योग संघले साथ दिने प्रतिवद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा स्थानीयहरुले यहाँको विकासका लागि गाउँपालिकाले ध्यान नदिएको बताएका थिए । यहाँ सरसफाईका लागि कर्मचारीको व्यवस्था गर्न माग गरेका थिए ।

गाउँपालिका र प्रदेशले गरि हाल सम्म विभिन्न पुर्वाधारका लागि ८५ लाख रुपैयाँ खर्चिसकेको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो । यहाँ सिढी, गेट सौचालय लगायत भौतिक संरचना निर्माण गरिएको बताउनुभयो ।
अध्यक्ष गुरुङले निर्वाचित भएर आएको ६ महिनादेखि नै यहाँको पर्यटन प्रवद्र्धनका लागि आफुहरु लागी परेको बताउनुभयो । उहाँले भन्नुभयो,“ हामीले यहाँ निर्वाचित भएको ६ महिनामै नेपाली सेना र पुरातात्विक विभागका प्रतिनिधि र सेना ल्याएर यहाँ नापजाँच गर्ने काम ग¥यौँ, यहाँको गुरुयोजनाका लागि नेपाली सेनालाई जिम्मा दिएका छौँ ।”
उपाध्यक्ष कृतिकुमार श्रेष्ठले गाउँपालिकाको सबै पर्यकटीय क्षेत्रहरुमा मोटरबाटो पुगीसकेको बताउनुभयो । अब पर्यटन प्रवद्र्धनका लागि आवस्यक पुर्वाधारहरु निर्माण गर्दे लैजाने र प्रचार प्रसारमा जोड दिने बताउनुभयो । सोही अनुरुप प्रचार प्रसारमा सहयोग पुगोस भनि यहाँ कार्यपालिका बैठक र अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गभाजु ,नेपाली कांग्रेस चितवनका जिल्ला सदस्य विष्णु कुँवर, मुग्लिन हाइवे हस्पिटलका अध्यक्ष राम बहादुर लामा, नेपाल शिक्षक संघ इच्छाकामनाका अध्यक्ष शिवप्रसाद तिमल्सिना, सिर्जनशिल महिला जागरण केन्द्र मुग्लिनका अध्यक्ष सावित्रि पुडासैनी, कर्तव्यनिष्ट महिला समाज मुग्लिनका अध्यक्ष सिर्जजना देवकोटा लगायतले आफ्नो भनाइ राखेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले कार्यक्रमको उद्देश्य तथा उपर्दाङ्गगढीको इतिहास र महत्व बारे चर्चा गर्नुभएको थियो । यस्तै उहाँले एतिहासिक गढीको रुपमा रहेको उपर्दाङ्गगढीको बारेमा चर्चा गर्दै हाम्रा पुर्खाहरुले अंग्रेजहरुबाट नेपाल कसरी जोगाएका थिए भन्ने कुरा जान्नकै लागि भएपनि एक पटक यो ठाउँ आउनु पर्ने बताउनुभयो। यसका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँसम्म ल्याउनका लागि गाउँपालिकाले काम गरिरहेको पनि उहाँले बताउनुभयो।

कार्यक्रममा गाउँपालिका प्रवक्ता सावित्री गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम गाउँपालिका कर्मचारी राजन घिमिरेले संचालन गर्नुभएको थियो ।
यसैबिच उपर्दाङ्गगढीमा पहिलो पटक इच्छाकामना गाउँपालिकाको कार्यापालिकाको बैठक बसेको छ। आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सघाउ पु¥याउन सकिने अपेक्षाले कार्यपालिका बैठक पहिलो पटक इच्छाकामनामा आयोजना गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालले बताउनुभयो।
सन् १९६० को दशकको शुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम रहेको थियो । विसं २०१६ सम्म महत्वपूर्ण सरकारी अड्डा र अदालत सबै यसै क्षेत्रमा रहेका थिए । ऐतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्ने तत्कालीन दाहाखानी गाविस र हालको इच्छाकामना गाउँपालिका–७ मा पर्छ । समुद्री सतहदेखि एक हजार २७५ मिटर उचाइमा पर्ने यो किल्ला तत्कालीन बाइसे–चौबिसे राज्य एकीकरणका बेला अङ्ग्रेज फौजविरुद्धको युद्धको दौरानमा नेपाली भूमिको रक्षाका लागि सन् १८०० को शुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गर्नुभएको थियो ।