नारायणगढ, १८ असार । नेपाल मगर संघ चितवनको भवनमा लगाइएको ट्रस (जस्ताको छानो)को शनिबार उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उद्घाटन गरेकी हुन् । महानगरपालिकाको ५ लाख ६० हजार रूपैयाँ र जनश्रम गरी कुल सात लाख ८२ हजार रूपैयाँको लागतमा नारायणगढस्थिति पोखरा बसपार्क पछाडि रहेको भवनको ट्रस निर्माण सम्पन्न भएको संघका जिल्ला अध्यक्ष ठाकुरसिंह आलेमगरले जानकारी दिए ।
उनका अनुसार मगर संघ स्थापना भएयता जिल्ला समितिको भवन निर्माणकार्यमा सरकारी बजेट पहिलोपटक परेको हो । अध्यक्ष अझै पनि भवनको मर्मत तथा भुइँमा टायल लगाउनुपर्ने काम बाँकी रहेको भन्दै महानगरसँग पुनः बजेटको माग गरे । ‘कम्तिमा पनि ६ लाख रूपैयाँ बजेटको आवश्यक पर्ने देखियो यो बजेटको व्यवस्था स्थानीय सरकारले नै गरिदिनुप¥यो,’ उनले भने ।

भवन पनि साँघुरो ठाउँमा भएको हुँदा नयाँ स्थानमा भवन निर्माणको लागि महानगरपालिकाले सहयोग गरिदिन पनि उनले आग्रह गरे । ‘हिजो दुई हजार मगर हुँदा निर्माण भएको भवन हो । त्यतिबेला यति ठाउँ पाउनु पनि ठूलो थियो । तर, अहिले चितवनमा मगरको संख्या ३५ हजार पुगिसक्यो । त्यसैले यो ठाउँ ज्यादै साँघुरो भयो,’ उनले भने, ‘भवन निर्माणको लागि महानगरले सहयोग गरेको खण्डमा जग्गाको व्यवस्था हामी आफैँ गर्छौँ ।’
कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित मेयर रेनु दाहालले पनि मगर संघको लागि स्थानीय सरकार सधैँ सकारात्मक रहेको प्रतिकृया दिइन् । जिल्लाभरिको मगर समुदायको लागि निर्मित संरचनाको लागि रातो किताबमै बजेट समावेश गरेर काम गर्ने उनले प्रतिवद्धता जनाइन् । ‘अबको पाँच वर्ष हामी तपाईंहरूकै लागि काम गर्न आएका हौँ, जति सकेको गर्छौँ,’ उनले भनिन् ।
नेपाल मगर संघ चितवनका उपाध्यक्ष लालबहादुर रानामगरले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगर, भरपुर १ का वडाअध्यक्ष केशव महर्जन, भरतपुर १२ का वडाअध्यक्ष बाबुराम रानामगर ज्येष्ठ नागरिक मञ्जका अध्यक्ष दीलबहादुर परियार, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष रमेश रानामगर लगायतको उपस्थिति थियो । कार्यक्रम नेपाल मगर संघ चितवनको सचिव सजन मगर ले संचालन गरेका थिए ।