श्याम सर्राफ, वीरगञ्ज, ७ असार । अत्यधिक गर्मी रहेको वीरगञ्जसहित तराईका जिल्लामा पटकपटक बिजुली जाँदा त्यस क्षेत्रका नागरिक आक्रोसित बनेका छन् । सरकारले दैनिक रूपमा भारतलाई बिजुली निर्यात गरिरहँदा देश भित्रकै नागरिक बिजुलीको अभाव खेपिरहेका छन् ।
पर्साको वीरगञ्जमा अहिले अघोषित लोडसेडिङ चलिरहेको छ । जसका कारण घर तथा कार्यालयमा असहज भइरहेको छ भने नागरिकलाई स्वास्थ्यमा समस्या देखिने त्रास बढेको छ । सामान्य हावाहुरी वा पानी पर्दा समेत बिजुली काटिने गरेको छ भने बन्न हप्तौ लाग्दा समस्या हुने नागरिकहरू बताउँछन् ।
विद्युत प्राधिकरणका कर्मचारीको लापरवाहीले विद्युत आपुर्तिमा समस्या भइरहेकोभन्दै स्थानीयवासीले प्राधिकरण विरुद्ध धर्ना र नाराबाजी समेत गरेका थिए ।
नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले विद्युतको माग बढी हुँदा वितरणमा समस्या भएको बताउनुभयो । आर्थिक नगरी समेत भनेर चिनिने वीरगञ्जमा बिजुली अनियमित हुँदा उत्पादनमा पनि असर परिरहेको छ ।