डम्बरबाबु बोहरा, बैतडी, ७ असार । बैतडीको सिगास गाउँपालिकाका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भोग्दै आइरहेका छन् । गाउँ सडक सञ्जालसँग नजोडिएका कारण उनीहरू आफूले पाउनुपर्ने सामाजिक सुरक्षा बापतको रकम लिनको लागि २ देखि ३ दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यतामा छन् । जसका कारण उनीहरू भत्ता लिनबाट बञ्चित भइरहेका छन् ।
सरकारले सामाजिक सुरक्षा भत्ता लिनका लागि लाभान्वितको नामबाट बैँकमा खाता अनिवार्य गरेको छ भने व्यक्ति स्वयं नै भक्ता लिन जानुपर्ने व्यवस्था गरेको छ । जसका कारण घण्टौं हिँडेर बैँक पुग्नुपर्ने अनि बैँक पुगेर फेरि लामो लाइनमा बस्नुपर्ने बाध्यता हुन्छ । भौगोलिक विकटताले दुःख र समय खेर गए पनि रित्तो हात फर्कनुपर्दाको दुःख अरुले बुझ्न नसक्ने स्थानीयको भनाइ छ ।
सिगास गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने झन्डै १ हजार ६ जना ज्येष्ठ नागरिक छन् । ती मध्ये कतिपयलाई बैँकसम्म पु¥याइदिने आफन्त र नातेदार पनि छैनन् । सहज रुपमा सामाजिक सुरक्षा भत्ता वितरणको लागि मन्त्रालयसँग पहल गरिरहेको गाउँपालिकाका अध्यक्ष हरीसिंह धामीले बताउनुभयो । उहाँले सडक सञ्जाल विस्तारका लागि सङ्घ र प्रदेश दुवै सरकारसँग छलफल भइरहेको भन्दै छिटो नै सडक विस्तार गरेर यातायात सञ्चालन गरिने उल्लेख गर्नुभयो ।
गत चैतमा २ दिन पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता बुझ्न गाजँरी पुगेका सिगास ६ थलाकाडा हरजित साउँदको लाईनमा बसिरहँदा ढलेरै मृत्यु भयो । सहज यातायातको व्यवस्था नहुँदा र आफै बैँकसम्म पुग्नुपर्ने बाध्यताका कारण त्यस्तो अप्रिय घटना अझै पनि नहोला भन्न सकिँदैन । त्यसकारण, यो समस्यालाई सहज बनाउन सक्दो चाडो ध्यान दिनुपर्छ ।