चितवन, ३० जेठ । जिल्ला समन्वय समिति चितवनको प्रमुख पदका लागि भोलि निर्वाचन हुने भएको छ । निर्वाचनका लागि सत्ता गठबन्धन पाँच दलको तर्फबाट भरतपुरका पूर्णबहादुर रानाभाट र एमालेको तर्फबाट इच्छाकामनाका नारायण अधिकारीले उम्मेद्वारी दर्ता गरेका छन् ।
को हुन् एमालेका अधिकारी ?
एमालेबाट जिल्ला समन्वय समितिको प्रमुख पदमा उम्मेदवारी दिएका इच्छाकामना गाउँपालिकाका नारायण अधिकारी एमालेको वाग्मती प्रदेश कमिटीको सदस्य हुन् । जिल्ला समन्वयमा उम्मेदवारी दिनकै लागि उनी इच्छाकामना वडा नम्बर ३ को सदस्य पदमा गत स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए । ्
उनले विद्यार्थी जीवनबाटै २०३६ सालबाट कम्युनिस्ट राजनीति सुरु गरेका थिए । सरल र सामान्य जीवन बिताउन चाहने अधिकारी २०३७ सालबाट पार्टीमा संगठित भए । एसएलसीपछि नै शिक्षण पेसा अँगालेका अधिकारीले २९ वर्ष ११ महिना राष्ट्रिय आधारभूत विद्यालय कमेरेमा शिक्षकको रुपमा सेवा गरेर २०६५ सालमा सेवा निवृत्त भएपछि पूर्णकालिनरुपमा एमालेको राजनीतिमा सक्रिय भएका हुन् । उनले एमाले जिल्ला कमिटीमा झण्डै दुई वर्ष काम गरे भने नेकपा विभाजन ताका एमाले केन्द्रीय सदस्यको रुपमा पनि काम गरे ।
उनले जिल्ला समन्वय समितिको प्रमुख भएपछिको भावी योजनाबारे सुनाउँदै प्राकृतिक स्रोतसाधनको संरक्षण गर्ने आफ्नो मुख्य जिम्मेवारी रहेको बताए । उनले भने, ‘चितवन जिल्लाका स्थानीय तहबीचमा प्रभावकारी समन्वय गर्नुका साथै प्राकृतिक स्रोतसाधनको संरक्षणमा विशेष ध्यान दिनेछु । वैज्ञानिक उपभोगको लागि मेरो प्राथमिकता हुनेछ ।’