काठमाण्डौ, २९ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको आरोप लगाउनुभएको छ। नेपाली काँग्रेसले आज देशैभर सरकारविरुद्ध प्रदर्शन गरेको छ।
प्रदर्शनको क्रममा हेटौंडामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंका व्यक्त गर्नुभयो।
प्रजातन्त्रको विरुद्ध जानुहुन्न भन्दा तत्कालिन राजाले आफूलाई थुनेको स्मरण गर्दै उहाँले राजाले प्रजातन्त्रलाई नसहेका कारण आफूहरु गणतन्त्रको पक्षमा उभिएको बताउनुभयो। सभापति देउवाले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको भन्दै सरकारको आलोचना समेत गर्नुभयो ।सरकार भ्रष्टाचार र बलात्कारका घटना बढेको उहाँको आरोप छ।