काठमाण्डौं, २६ मंसिर ।
नेपालको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कुल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउन नपर्ने हुने सरकारको भनाइ छ ।
बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको र उनीहरुबाहेक सबैलाई खोप लगाउने योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सीआईएनसँग बताउनुभयो ।
अहिले बन्न थालेको खोप १५ वर्षभन्दा माथिका उमेर समूहलाई मात्र परीक्षण गरिएकाले नेपालमा पनि सोही समूहका व्यक्तिलाई खोप लगाइने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।