Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दार्चुलामा हट्यो तुइन, बन्यो झोलुङ्गे पुल

दार्चुलामा हट्यो तुइन, बन्यो झोलुङ्गे पुल

इच्छाकामना न्युज

१३, जेठ २०७९
दार्चुलामा हट्यो तुइन, बन्यो झोलुङ्गे पुल
images

दार्चुला, १३ जेठ । दार्चुलामा नेपाल–भारत जोड्ने गरी महाकाली नदीमाथि दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । तुइन विस्थापनअन्तर्गत ती नदीमाथि पुल निर्माण गरिएको हो । व्याँस गाउँपालिका–६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा झोलुङ्गे पुल निर्माण भएको हो । पुन बनेसँगै अहिले स्थानीयवासी खुसी भएका छन् ।

images
images

महाकाली नदीमा जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ । मालिकार्जुन –६ का तेजबहादुर चन्दले भन्नुभयो, “बल्ल अहिले आएर पुल निर्माण भयो ।” स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले अहिले जिल्लाको महाकाली नदीमाथि चार झोलुङ्गे पुल निर्माण गरिरहेको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारत पिथौरागढ जिल्ला अधिकारी आशिष चौहानले बिहीबार मालिकार्जुन–६ बाँकु स्थित पुलको शुभारम्भ गर्नुभयो भने व्याँस –६ बडुगाउँस्थित झोलुङ्गे पुलको व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले शुभारम्भ गर्नुभएको हो ।

पुल निर्माणपछि दुवै ठाउँका स्थानीयवासी खुसी देखिएका हुन् । व्याँस –६ का कलावती भट्ट तुइन विस्थापनअन्तर्गत झोलुङ्गे पुल निर्माण भएपछि आवतजावतमा सहज हुने बताउनुहुन्छ । वर्षौँदेखि तुइनको सहारामा महाकाली नदी वारपार गर्दै आउनुएका उहाँ बिहीबारदेखि तुइनको ठाउँमा झोलुङगे पुल सञ्चालन भएपछि खुसी देखिनुभयो ।

उहाँले भन्नुभयो, “कयौँ बर्खा यो महाकाली नदीमा अकालमै ज्यान गुमाउन बाध्य थिए । अब तुइनका कारण ज्यान गुमाउनुपर्ने अवस्था आउने छैन ।” व्याँस –६ बडुगाउँ क्षेत्रका स्थानीयवासी नेपाल–भारत वारपार गर्न पुल नहुँदा तुइनको सहारामा आउजाउ गर्थे । नेपालतिरको बाटो जाने हो भने छ घण्टा समय लाग्छ ।

भारतबाट जाँदा यसअघि तिगरम भएर जाँदा अढाइ घण्टा बढी समय लाग्ने गरेको थियो । अहिले बडुगाउँमा झोलुङ्गे पुल निर्माण भएपछि आधा घण्टामा सदरमुकाम खलङ्गा आउजाउ गर्न सहज भएको छ । मालिकार्जुन–६ का काशी विकले १० वर्षदेखि यस क्षेत्रमा झोलुङ्गे पुल निर्माण हुन्छ भन्ने सुने पनि अहिले आएर पुल निर्माण सकिएको बताउनुहुन्छ । “अहिले आएर पुल निर्माण पूरा भएर सञ्चालन हुँदा खुसी छौँ । बाकु र भारतको द्वालीसेरा जोड्ने गरी झोलुङ्गे पुल सञ्चालन भएपछि हामीलाई हिउँद–बर्खामा यात्रा सहज हुनेछ”, उहाँले भन्नुभयो ।

नागरिकले झोलुङ्गे पुल नहुँदा ट्युबमार्फत यो क्षेत्रमा आवतजावत गर्न बाध्य थिए । दैनिक उपभोग्य सामान त्यहीँ ट्युबको माध्यमबाट वारपार हुन्थ्यो । झोलुङ्गे पुल निर्माणपछि अब मालिकार्जुन र लेकम क्षेत्रका नागरिकलाई समेत वारपार गर्न सहज भएको उहाँले बताउनुभयो ।

नागरिकले अकालमै तुइन र ट्युबका कारण ज्यानको बाजी लगाउनुपर्ने अवस्थाको अन्त्य भएको व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “अब यी दुवै वडाका नागरिकले तुइनको कारण ज्यान गुमाउनुपर्ने छैन । दुई निर्माणाधीन पुल पनि चाँडै सम्पन्न गर्न ताकेता गर्छौँ ।”

व्यास –४ मडगाउँ र मालघाटमा पनि झोलुङ्गे पुल निर्माणाधीन छ । मडगाउँमा माघ तेस्रो साता झोलुङ्गे पुल निर्माण सम्पन्न भए पनि अन्य भौतिक संरचना निर्माण बाँकी छ । व्याँस गाउँपालिका–२ को मालघाटमा भने झोलुङ्गे पुल निर्माणाधीन छ ।

मालगाउँ र मडगाउँमा खम्पाचे रुविना जेभी काठमाडौँले झोलुङ्गे पुल निर्माण गरिरहेको छ । यी दुवै पुलका लागि कूल रु दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौता भएको हो । यस्तै बाकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले पुल निर्माण गरेको हो । पुल निर्माण गर्न कूल रु दुई करोड ५५ लाख ६४ हजार लागतमा सम्झौता भएको थियो ।

सो कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीर, मालिकार्जुनका अध्यक्ष धामी, व्यासका अध्यक्ष मङ्गलसिंह धामी, दुवै देशका सुरक्षा अधिकारीको उपस्थिति थियो । महाकाली नदीमाथि नेपाल–भारत जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको छ । यअसघि ब्याँस–६ को तिगरम र लेकम गाउँपालिका–३ को लाली, मालिकार्जुन–७ को जौलजीविमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण भएका छन् ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी उपाध्यायले अब पुललाई नियमित सञ्चालनमा ल्याइने बताउनुभयो । उहाँले भन्नुभयो, “अब दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा पुल नियमित सञ्चालनमा आउँछ । नागरिकले अब तुइन तरेर महाकाली वारपार गर्नुपर्ने छैन ।”

भारत पिथौरागढका डिएम चौहानले नेपाल–भारत पुल नियमित सञ्चालनका लागि सहयोग गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकले सहज आवतजावत गर्न सकुन् भनेरै पुल बनेको हो । सहजरूपमा आवतजावतको प्रबन्ध हुन्छ ।” पुल निर्माणमा दुवै देशका सुरक्षा अधिकारी, जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता थियो ।

images
प्रकाशित मिति :जेठ १३, २०७९ शुक्रवार - ०८:४०:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology