कुरिनटार, ९ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दान बहादुर गुरुङले इच्छाकामना गाउँपालिकाको समृद्धि र विकासका लागि अब सबैपक्षसँग गठबन्धन गर्ने बताएका छन्। आज गाउँपालिकामा आयोजित उपाध्यक्ष, वडाध्यक्ष लगायत नवनिर्वार्चित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रमलाई सम्बोन्धन गर्ने क्रममा अध्यक्ष गुरुङले यस्तो बताएका हुन्।
सम्बोन्धनकै क्रममा अध्यक्ष गुरुङले भने ‘अब हामी इच्छाकामनाको विकास र समृद्धिका लागि सबै पक्ष संग सहकार्य गरेर समन्वय गरेर राम्रो काम गर्न यहाँहरुसंग गठबन्धन गछौँ, फरक धार हुदैँन, फरक विचार हुदैँन, फरक पार्टी हुदैँन हामी कसैलाई भेदभाव गर्ने छैनौँ, इच्छाकामनालाई समृद्ध बनाउन, वडा वडामा विकास गर्न समृद्ध गर्न कस्ता योजना सञ्चालन गर्ने हो तपाइहरुसंग घनीभुत छलफल गरेर कार्यान्वयन गछौँ ।’
साथै जनप्रतिनिधिहरु जनताको शासक नभई सेवक भएकाले सम्मान भन्दानी काम लगाउन आग्रह गरे । उनले भने ‘मैले जनताको घरदैलोमा जाँदा पटक पटक भन्ने गरेको छु हामी शासक जस्तो होइन सेवक जस्तो बन्ने हो, तपाइहरुले मान सम्मान गर्नुभएको छ, हामीलाई सम्मान होइन काम गर्न दिनुहोस् हामीलाई काम भन्दिनुहोस्, यो–यो राम्रो काम गर भन्नुस, हामीलाई टोलटोलमा स्वागत सम्मान फुलको मालाले होइन काम देखाइदिनुहोस् ढुंगा उचाल्न लगाउनुहोस्, गिट्टी कुट्न, लगाउनुहोस् कुलो बनाउन लगाउनुहोस, विद्यालय बनाउन लगाउनुहोस, स्वास्थ्य केन्द्रमा औषधी छैन भने औषधी किन्न लगाउनुहोस्, यसै राम्रो छ भनेर सम्मान मात्र गर्दा हामी बिग्रन सक्छौँ, हामी काम गर्न आएका हौँ, हामी प्राथमिकताको आधारमा काम गछौँ।’ जनताले जनप्रतिनिधिलाई नभई जनप्रतिनिधिले जनताको सम्मान गर्नुपर्ने उनको भनाई छ ।
साथै उहाँले विगतका जनप्रतिनिधिहरुले थालनी गरेका राम्रा कामहरुलाई निरन्तरता दिने बताए । इच्छाकामनाको विकास र समृद्धिका लागि संघिय सरकार र प्रदेश सरकारसंग समन्वय गरि थप राम्रा राम्रा जनमुखी योजनाहरु ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
संघिय सांसद कृष्ण भक्त पोखरेलको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष माया सिलवाल सहित, सात वटै वडाका नवनिर्वाचि वडाध्यक्ष र सदस्यहरुलाई अध्यक्ष गुरुङले सपथ ग्रहण गराएको थियो ।
सोहि कार्यक्रममा पूर्व जनप्रतिनिधिहरुलाई सम्मान तथा विदाई पनि गरिएको थियो । कार्यक्रममा विभिन्न दलका प्रतिनिधि संघसंस्थाका प्रतिनिधि, कर्मचारी र स्थानीय जनसमुदायको उपस्थिति रहेका थिए ।