कुरिनटार, २ जेठ । चितवनको इच्छाकामना गाउँपालिकामा एमालेका उम्मेद्वारहरुले पुनः अग्रता लिन थालेको छ । वडा नं. ३ सम्मको मतगणना सकिदा सम्म गठबन्धनका उम्मेद्वारले अग्रता लिएको इच्छाकामनामा वडा नं. ४ को मतगणना सुरु भएसँगै पुनः एमालेले अग्रता लिन थालेको छ ।
तुलानात्मक रुपमा गठबन्धनले सबैभन्दा बढि बलियो मानेको वडा नं. ३ मा नै वडाध्यक्षमा गठबन्धनका उम्मेद्वारलाई हराएर नेकपा एमालेका उम्मेद्वार नर बहादुर नेपाल निर्वाचित भएपछि वडा नं. ४ मा आएर पुनः एमालेले अग्रता लिन थालेको हो।
पहिले गठबन्धनकै माओवादी केन्द्रले जितेको यो वडामा अहिलेको गठबन्धनका अध्यक्ष उम्मेद्वार इच्छाकामनाका पूर्व अध्यक्ष गीताकुमारी गुरुङ र गठबन्धनका उपाध्यक्ष उम्मेद्वार प्रताप गुरुङकै गृह वडा भएको कारण गठबन्धनलाई यस वडामा धेरै भोट झर्ने अनुमान गरिएको थियो । तर सबैले अपेक्षा गरेको विपरित गठबन्धनलाई यस वडामा सोचेझै मत झर्न सकेन ।
वडा नं. ४ मा पनि एमालेले नै अग्रताका साथ मत प्राप्त गर्न थालेको छ । वडा नं. ३ को मतगणना सकिदा अध्यक्षमा ९१ मतले पछि परेको एमाले वडा नं. ४ को सुरुवाती ६०० मत गन्दासम्म उक्त मत कभर गरेर ४९ मतले अग्रता लिन सुरु गरेको छ भने वडाको सबै पदमा एमालेकै उम्मेद्वारहरुले अग्रता लिन सुरु गरेको छ । यद्यपी उपाध्यक्षमा भने गठबन्धनकै उम्मेद्वार प्रताप गुरुङले ३७९ मतले अग्रता लिएको छ ।
यो सँगै इच्छाकामनामा एमालेले अध्यक्ष जित्ने संकेत देखिन थालेको छ । यसपछि मतगणना गर्न बाँकी अधिकांश एमाले बलियो रहेको वडाहरु छन् । एमाले अध्यक्ष उम्मेद्वार दान बहादुर गुरुङको गृह वडामा अझै मत गन्न बाँकी रहेकोले पनि एमालेले जित्ने आकलन गर्न थालिएको छ ।