काठमाण्डौ, २९ वैशाख । देशको विदेशी मुद्रा सञ्चिति थप घटेको छ । राष्ट्र बैङ्कले देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति नामक मासिक प्रतिवेदन सार्वजनिक गर्दै चैत मसान्तसम्म ११ खर्ब ६७ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेको बताएको छ । फागुनसम्मविदेशी सञ्चिति ११ खर्ब७१ अर्ब रहेको थियो । २०७८ असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति ९ महिनामा १६ दशमलव ५ प्रतिशतले घटिसकेको छ ।
सीआईएनसँग कुराकानी गर्दै राष्ट्र बैङ्कका प्रवक्ता डाक्टर गुणाकरण भट्टले चालु आर्थिक वर्ष २०७८÷०७९ को ९ महिनाको अवधिमा रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह भने बढेको बताउनुभयो । चैत महिनामा मूल्यवृद्धि दर थप बढेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७ दशमलव २८ प्रतिशत पुगेको छ । फागुनमा यस्तो वृद्धिदर ७ दशमलव १४ प्रतिशत थियो ।
मुलुकको बढ्दो व्यापार घाटा र घट्दो विदेशी मुद्रा सञ्चितिका कारण चिन्तित हुनुपर्ने अवस्था भने नरहेको जानकारहरू बताउँछन् । पछिल्लो समय नेपालबाट निर्यात हुने वस्तुको दर बढेको हुँदा त्यसबाट पनि नेपालको अर्थतन्त्रलाई फाइदा पुग्न सक्ने राष्ट्र बैङ्कका पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले सीआईएनसँग बताउनुभयो ।