कुरिनटार, २७ वैशाख । केहि महिना अघिसम्म चक डस्टर बोकेर विद्यालयको कक्षाकोठा चाहार्दै साना साना विद्यार्थी भाईबहिनीहरुको अभिभावक बनेर शिक्षाको उज्यालो छर्दै दैनिकी गुजार्ने शिक्षक दान बहादुर गुरुङको अचेल परिचय र दैनिकी दुवै बदलिएको छ । राष्ट्रिय आधारभुत विद्यालय पैरेनी इच्छाकामना ६ को प्रध्यानाध्यापकको उनको परिचय फेरिएर अचेल नेकपा एमालेबाट इच्छाकामना गाउँपालिकाको अध्यक्ष उम्मेद्वार भएको छ भने बिहानदेखि बेलुकासम्म आफुलाई मत माग्न जनताको घरदैलोमा जाने दैनिकी बनेको छ ।
आमा पियारी गुरुङ र बाबा भिम बहादुर गुरुङको कान्छा छोराको रुपमा वि.सं. २०२८ साल वैशाख ४ गते साविकको चण्डिभञ्ज्याङ्ग गाविस ९ हालको इच्छाकामना गाउँपालिका ६ को याकराङ गाउँमा जन्मिएका गुरुङ सानैदेखि सालिन र भद्र स्वभावका थिए ।
गाउँकै ढुङ्गामाटो खेलेर चण्डिभञ्ज्याङ्ग मावि ढुङ्ग्रेबाट आधारभुत तहको शिक्षा लिएका उनले माध्यामिक तहको शिक्षा सर्वशान्ति मावि कुरिनटारबाट लिएका हुन् । त्यसपछि प्रविणता प्रमाणपत्र तह बालकुमारी कलेजबाट उतीर्ण गरेका उनले सोही कलेजबाट स्नातक तहसम्म अध्ययन गरेका छन्।
वि.सं. २०५२ सालदेखि हालको राष्ट्रिय आधारभुत विद्यालय पैरेनीमा शिक्षक भै विगत २ दशक देखि हाल अध्यक्षको उम्मेद्वार बन्नु भन्दा केही महिना अघिसम्म पनि शिक्षण गर्दै आईरहेका थिए।
शिक्षणसँगै राजनिति सुरु गरेका गुरूङले २०५४ सालमै नेकपा एमालेको पार्टी सदस्यता लिएका हुन्। त्यसयता लगातार चार पटक नेकपा एमालेको जिल्ला समिति सदस्य भए। उनी अहिले पनि नेकपा एमालेको जिल्ला कमिटि सदस्य हुन् भने इच्छाकामना गाउँपालिका कमिटिको इन्चार्ज छन्। उनी नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्वजिल्ला अध्यक्ष पनि हुन्।
सानैदेखि सामाजिक सेवा गर्न भनेसी हुरुक्कै हुने उनै गुरुङ शिक्षक पेशाको स्थायी जागिर पेन्सन पाक्न ४ वर्ष बाँकी छदै राजिनामा दिएर जनताको सेवा गर्न आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट इच्छाकामना गाउँपालिकाको अध्यक्ष पदमा उम्मेद्वार बनेका छन् ।
आफ्नो उम्मेद्वारीको सन्दर्भमा इच्छाकामना न्युजसँग कुराकानी गर्दै उनले भने, ‘म जनताको सेवक बनेर शिक्षा, स्वास्थ्य र विपन्न वर्गको जीवनस्तर सुधार्ने काममा सक्रिय हुन चाहन्छु। त्यसैले मैले सक्रिय राजनीतिमा आउन स्थायी शिक्षक पदबाट पेन्सन निस्कन ४ वर्ष बाँकी छर्दै राजीनामा दिएँर आएको हुँ।’
गुरूङले गाउँपालिकाको अध्यक्षमा विजयी भए सबैभन्दा पहिले शिक्षाका समस्या समाधानमा लाग्ने बताएका छन्। चेतना अभावका कारण बालमजदुरको संख्या बढेको र प्राथमिक विद्यालयमा पनि सबैको पहुँच उनको भनाइ छ। उनले बालबालिकाले पढ्न पाउने व्यवस्था मिलाउने र बाल मजदुरको संख्या शून्यमा झार्ने बताए।
गुरूङले इच्छाकामना किसान शिक्षासँग जोडेर उत्पादन बढाउने कार्यक्रम ल्याउने र आफ्नो गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बन्न प्रेरित गर्ने पनि बताए।
गुरूङले गरिबीको रेखामुनि रहेका चेपाङ र दलित समुदायको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउने, मेयर आवास कार्यक्रम सञ्चालन गरी बासस्थानको व्यवस्था गर्ने र सुकुम्बासीलाई व्यवस्थित गर्न लालपुर्जा वितरण गर्ने योजना सुनाएका छन्।
इच्छाकामनालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा प्रवर्द्धन गर्ने, सडक सञ्जाल विस्तार गर्नेलगायतका योजना रहेको उनको भनाइ छ।
इच्छाकामनाका ग्रामीण क्षेत्रमा सडकको अवस्था दयनीय रहेकाल स्तरोन्नति गर्ने र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्ने पनि गुरूङले बताए।