राजन रुचाल, काठमाडौं, २६ चैत । प्राय अस्पतालहरू सुविधा सम्पन्न ठाउँमा खुल्छन् । कारण, विकसित ठाउँमा सबै सेवा सुविधा हुन्छ, जहाँबाट अस्पताल चलाउन सजिलो हुन्छ । अस्पताल बिरामीहरू उपचार गर्ने ठाउँ मात्रै होईन, रोग निको पार्दै मानिसहरूको मुहारमा मुस्कान फर्काउने थलो पनि हो ।
बाँकेको एउटा यस्तो अस्पताल जसले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका कयौं बिरामीलाई खुशी दिएको छ । भmण्डै डेढ दशक अघिको परिकल्पना भएपनि खजुरामा सुसील कोईराला प्रखर क्यान्सर अस्पताल खुलेको लगभग चार वर्ष भयो । एक सय शय्याको स्वीकृति पाएको अस्पतालले हाल ६० शय्या सञ्चालन गर्दै आएको छ । जहाँ पश्चिम नेपालका क्यान्सर पीडित बिरामी उपचार गराउन आईपुग्छन् ।
खजुरा स्थित यो अस्पताल सरकारी स्तरबाट सञ्चालित राजधानी बाहिरको दोस्रो क्यान्सर अस्पताल हो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न २२ जिल्लाका बिरामीहरू खजुरा आउँछन् । उपचारका लागि काठमाडौं, चितवन र भारत जानु नपर्दा बिरामीलाई निकै सजिलो भएको छ । पश्चिम नेपालका क्यान्सर पीडित विरामीले घर नजिकै उपचार सेवा पाएका छन् ।
बिरामी आउने दर बढ्दै जाँदा, खजुरामा चहल पहल मात्रै बढेको छैन, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको व्यस्तता पनि बढेको छ । खजुरामा धेरैजसो पाठेघर, स्तन, फोक्सो र मुखको क्यान्सरका बिरामी आउने गरेका छन् । आधुनिक सुविधा र थप जनशक्तीको पर्खाइमा भएपनि बाँकेको खजुरामा रहेको क्यान्सर अस्पताल पश्चिम नेपालका विरामीका लागि बाँच्ने आधार बनेको छ ।