सिन्धुली, २६ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, (फोनिज) सिन्धुलीले मोटरसाइकल दुघटनामा मृत्यु भएका पत्रकार अन्जन राना मगरको स्मृतिमा अक्षय कोष स्थापना गर्ने भएको छ । स्वर्गीय पत्रकार रानाको छोरीको पठनपाठन तथा स्वास्थ्य उपचार खर्चका लागि अक्षय कोष स्थापना गर्ने निर्णय गरिएको फोनिज सिन्धुलीले जनाएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, (फोनिज) सिन्धुलीको विहिवार बसेको बैठकले स्वर्गीय पत्रकार अञ्जन रानाको स्मृतिमा तीन लाखको अक्षय कोष स्थापना गर्ने निर्णय गरिएको फोनिज सिन्धुलीको अध्यक्ष रोहितकुमार गुरुङले जानकारी दिए। अक्षय कोषबाट रानाको छोरीको पठनपाठन र स्वास्थ्य उपचारमा खर्च गरिने अध्यक्ष गुरुङले जानकारी दिए । संस्थामा रहेको रकममा सदस्यहरुबाट स्वच्छिक सहयोग रकम संकलन गर्ने र विभिन्न संघ संस्थासँग सहयोग माग्ने अध्यक्ष गुरुङले बताए। बैठक पश्चात सो इच्छुक सहयोग अग्रहको केही समयमै फोनिज जिल्ला शाखा सिन्धुलीका निवर्तमान अध्यक्ष नवीन श्रेष्ठको तर्फबाट सात हजार सात सय सतहत्तर रुपैया प्रदान गरेको थियो।
पत्रकार रानाको २३ गते सोमवार समाचार संकलन गर्न गोलञ्जोर गाउँपालिका जाने क्रममा कमलामाई नगरपालिका वडा नं. २ को ढङ्ग्रेभञ्ज्याङमा मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको थियो । राना विगत एक दशक देखि सिन्धुलीमा पत्रकारीता गरिरहेका थिए । रेडियो शिद्धबाबामा कार्यरत राना नेपाल आदिवासी जनजाति पत्रकार पत्रकार महासंघ (फोनिज) सिन्धुलीको कार्यसमिति सदस्य समेत थिए।