Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बुधारदेखि लागु हुने गरी अण्डाको मूल्य बढ्यो, किसानलाई भन्दा व्यापारीलाई फाइदा

बुधारदेखि लागु हुने गरी अण्डाको मूल्य बढ्यो, किसानलाई भन्दा व्यापारीलाई फाइदा

images

इच्छाकामना न्युज

२६, फाल्गुण २०७८
बुधारदेखि लागु हुने गरी अण्डाको मूल्य बढ्यो, किसानलाई भन्दा व्यापारीलाई फाइदा
images

चितवन, २६ फागुन । नेपाल अण्डा उत्पादक संघले बुधवारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । संघले चितवन जिल्लालाई आधार मानेर बढाएको मूल्य अनुसार ठूलो अण्डाको प्रतिक्रेट ३९५ रुपैयाँ र मध्यम अण्डाको प्रतिक्रेट ३६५ रुपैयाँ पुगेको छ ।

यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३६५ र मध्यम अण्डाको मूल्य प्रतिक्रेट ३३५ रुपैयाँ थियो । बढेको मूल्य अनुसार प्रतिअण्डाको गेट मूल्य १३ रुपैयाँ १६ पैसा भए पनि उपभोक्ता मूल्य भने १६ रुपैयाँ कायम गरिएको छ ।

उपभोक्ताको भान्सामा दैनिकजसो उपभोग हुने अण्डाको मूल्य बढ्दा किसानलाई भन्दा बिचौलिया तथा व्यापारीलाई बढी फाइदा हुने गरेको छ । मूल्य बढे पनि अहिले किसानले पाउने प्रतिगोटा अण्डा १३ रुपैयाँ १६ पैसा मात्र हो । किसानबाट व्यापारीसम्म आइपुग्दा ढुवानी चार्ज जोडेर १६ रुपैयाँ उपभाक्ता मूल्य राखिएको छ । तर यसअघि अण्डाको गेट मूल्य १२ रुपैयाँ १६ पैसा हुँदा पनि व्यापारीले सर्वसाधारण उपभोक्तासँग १७ रुपैयाँसम्म लिने गरेका थिए । अब संघले नै उपभोक्ता मूल्य १६ रुपैयाँ राखेपछि व्यापारीले उपभोक्तासँग १८ देखि १९ रुपैयाँसम्म लिन सक्ने बताइएको छ ।

नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले किसानले पाउने मूल्य लागतभन्दा खासै धेरै नभएको बताए । उनका अनुसार अहिले पनि एउटा अण्डाको लागत मूल्य १३ रुपैयाँ हाराहारी छ । साँच्चै अण्डा उत्पादक किसानले नाफा पाउने गरी मूल्य राख्ने हो भने प्रतिक्रेट ४५० रुपैयाँ अर्थात् अण्डाको गेट मूल्य १५ रुपैयाँ पुर्‍याउनुपर्ने उनको तर्क छ ।

पछिल्लो समय नेपालमा अण्डाको माग बढेको र उत्पादन घटेकाले मूल्य बढाउनुपरेको संघले बताएको छ । यसबाहेक पोल्ट्री दानाको कच्चापदार्थको मूल्यवृद्धिको असर अण्डाको मूल्यमा परेको संघको जिकीर छ । यसअघि नेपालमा प्रतिदिन ३८ लाख अण्डा उत्पादन हुने गरेको भए पनि अहिले उत्पादन घटेर ३४ लाखमा सीमित रहेको संघले बताएको छ । दानाको मूल्य बढ्दा अधिकांश किसानले कुखुरा पाल्न नसक्ने अवस्था आएको छ । कुखरापालन घटेकाले उत्पादनमा ह्रास आएको हो ।

दानाको मुख्य कच्चापदार्थको रूपमा रहेको भटमासको मूल्य १ वर्ष अवधिमा प्रतिकिलो ५५ रुपैयाँ र मकैको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको छ । पछिल्लो समय चिनियाँ व्यवसायीले भटमास लगायत कच्चापदार्थको खपत अत्यधिक बढाएकाले अन्य देशमा यसको अभाव भएको छ । सोही कारण मूल्य बढेको हुन सक्ने दाना उद्योग संघका अध्यक्ष रविन पुरीले बताए ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - ०९:५२:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology