सजना तिमल्सिना, काठमाडौँ, २६ फागुन । डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदै जाँदा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पर्ने असरबारे छलफल सुरु भएको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कले झण्डै २२ लाख नेपाली श्रम गर्नकै लागि विश्वका विभिन्न मुलुकमा रहेको देखाउँछ ।
यो आर्थिक वर्षको ६ महिनामा मात्रै वैदेशिक रोजगारीका लागि१ लाख ६७ हजार ५ सय १३ जनाले अन्तिम श्रम स्वीकृति लिएका नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । गत साउनदेखि पुससम्म नेपालमा ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अहिले डलर महङ्गो भएकाले यो रकम अझै बढ्ने राष्ट्र बैंकका पूर्व गभर्नर चिरन्जिवी नेपालले बताउनुभयो ।
विदेशबाट पठाएको पैसाले आफ्नो परिवारको मात्र नभएर देशको रेमिट्यान्स बढाउन पनि सहयोग गर्छ । अझ डलर मजबुत हुँदा नेपाली बजार महङ्गो हुने भएपनि पर्यटक र रेमिट्यान्सबाट भने फाइदा लिन सकिने विज्ञहरू बताउँछन् । तर रुस युक्रेन युद्धले तेल तथा खाद्यान्न मूल्य बढ्दै जाँदा त्यसको असर वैदेशिक रोजगारीमा रहेकाहरूलाई पनि पर्न सक्ने अर्थविज्ञहरूको भनाइ छ ।