Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विद्यार्थी मृत्यु प्रकरण : सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा कायमै

विद्यार्थी मृत्यु प्रकरण : सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा कायमै

इच्छाकामना न्युज

२५, फाल्गुण २०७८
विद्यार्थी मृत्यु प्रकरण : सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा कायमै
images

लमजुङ, २५ फागुन । लमजुङको सुन्दरबजार नगरपालिका-९ सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेबाट जारी गरिएको अनिश्चितकालीन निषेधाज्ञा कायमै रहेको छ । मंगलबार सुन्दरबजार नगरपालिका-९ मा फ्युचर स्टार आवासीय विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र १८ वर्षीय सनिज श्रेष्ठको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएपछि सिर्जना भएको प्रदर्शनलाई मध्यनजर राखेर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । तनहुँको भानु नगरपालिका-९ बाइसजाँगर घर भएका श्रेष्ठ फ्युचरस्टारको होस्टेलमा बसेर अध्ययन गर्दै आएका थिए ।

images
images

विद्यार्थीको मृत्यु हुनुमा विद्यालयलाई दोषी देखाउँदै आफन्त र बाइसजाँगरका स्थानीयले प्रदर्शन गरेपछि तनाव सिर्जना भएको छ । प्रदर्शनलाई रोक्न खोज्दा तीन जना प्रहरी घाइते भएका थिए भने केही प्रदर्शनकारी समेत घाइते भएका थिए । विद्यार्थीको आफन्तलाई थाहै नदिई शव पोस्टमार्टमका लागि अस्पताल ल्याएको भन्दै स्थानीयले बेंसीसहरस्थित जिल्ला अस्पताल र प्रहरी कार्यालयमा आएर पनि प्रदर्शन गरेका थिए । 

प्रहरीले स्कुलका शिक्षक सरोज ओलिया र एक जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । मंगलबार बेलुका पीडितका परिवार र आफन्तसँग बसेर छलफल गर्दा पीडित परिवार सहमतिमा नआएको र बुधबार साँझसम्म सहमति नहुँदा निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

घटनाको सूक्ष्म तरिकाले अनुसन्धान गर्ने, घटनाको वास्तविकता पत्ता लगाएर दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले बताएको छ । प्रहरीले अश्रुग्याँस, लाठीचार्ज र हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएको र बुधबार ठूलोमात्रामा स्थानीयवासी आउने भएपछि स्थिति नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको प्रशासन स्रोतले बताएको छ । बुधबार बिहान ६ बजेबाट विद्यालय भएको स्थान सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

जिल्ला प्रशासन कार्यालय लमजुङले सूचना जारी गर्दै सुन्दरबजार नगरपालिका ७ पूर्व दक्षिणस्थित पाउदी पुल, पूर्वतर्फ राइनासबाट पाउदीतर्फ आउने मर्स्याङ्दी पुल, पश्चिमतर्फ सुन्दरबजार नगरपालिका ९ मा रहेको मध्य मर्स्याङ्दी जलविद्युत केन्द्रको आवास क्षेत्रको मूल गेट अगाडीको पक्की सडक र उत्तरतर्फ सुन्दरबजार नगरपालिका ८ स्थित सिउँडीबार चोक समेत चार किल्ला भित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको जनाएको छ । निषेधाज्ञाको समयमा सवारी साधन आवतजावतमा बन्द गरिएको छ । निषेधाज्ञासँगै काठमाडौँ र पोखराबाट आएका सवारीसाधन तनहुँको भानु नगरपालिका-९ बाइसजागरमा रोकिएका छन् । 

निषेधाज्ञा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका छन् । पोखरा र तनहुँबाट समेत प्रहरी ल्याएर परिचालित गरिएको प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । मृतकका आफन्तले दुई वटा स्कुल बस, एउटा भ्यान र स्कुलको मूल गेट तोडफोड गरेका छन् ।

 

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - २१:५१:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology