Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बस्तिबीचका क्रसर उद्योग हटाउँदै तनहुँको हलेदावासी

बस्तिबीचका क्रसर उद्योग हटाउँदै तनहुँको हलेदावासी

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०७८
बस्तिबीचका क्रसर उद्योग हटाउँदै तनहुँको हलेदावासी
images

तनहुँ, २५ फागुन । वस्तिको बिचमा रहेको क्रसर उद्योग हटाउन तनहुँका स्थानीय जुटेका छन् । जिल्लाको शुक्लगण्डकी नगरपालिका-२ हलेदावासी वस्तिको बिचमा रहेका क्रसर उद्योगलाई हटाउन जुटेका हुन् । 

हलेदीको वस्तिमा दुई क्रसर उद्योग सञ्चालनमा छन् । तत्कालीन दुलेगौँडा गाविससँग १० वर्षे सम्झौता गरेर क्वालिटी क्रसर एण्ड एग्रिगेट प्रालिले सार्वजनिक जग्गामा उद्योग सञ्चालन गरिरहेको छ । सार्वजनिक जग्गा प्रयोग गर्न पाउने क्वालिटीको म्याद गत पुसमा सकिएको छ । 

म्याद सकिएसँगै क्वालिटीसँगै वस्तिमा जोडिएको महालक्ष्मी एग्रिगेट प्रालिलाई पनि हटाउन हलेदावासी एकमत भएका छन् । यद्यपि महालक्ष्मीले भने व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा उद्योग सञ्चालन गरेको छ । उद्योगले स्थानीयको स्वास्थ्यमा असर पुर्‍याइरहेकाले हटाउनुपर्ने माग छ ।

अबको दुई महिनाभित्र क्वालिटी र महालक्ष्मीलाई हलेदीबाट स्थानतरण हुनलाई समय दिएको शिलादेवी टोल विकास संस्थाका अध्यक्ष हरिलाल रिमालले बताए । २९ फागुनपछि बाहिरबाट कम्पनीमा ढुंगा, गिट्टी, वालुवा भित्र्याउन नदिने निर्णय गरेको उनले बताए । ‘क्रसर उद्योगले मौज्दात गरेको ढुंगा, गिट्टी, बालुवाको थुप्रो हटाउन दुई महिने समय दिएका छौं', उनले भने ।  क्रसरलाई स्थानतरण गर्न दिएको समय अवधिमा अटेरी गरेर नहटाए आन्दोलनमा उत्रने उनको चेतावनी छ ।

वस्तिमा रहेको क्रसर उद्योगलाई हटाउन स्थानीय सरकार र प्रशासनलाई पटक-पटक अनुरोध गरे पनि कानमा तेल हालेर बसेको उनले आरोप लगाए । ‘दोस्रो दर्जाको नागरिकको आभास हुन्छ । स्वच्छ हावापानीमा बाँच्न पाउने अधिकार कुण्ठित गरिएको छ । धुलो-धुवाँबाट आजित भएका छौं । अब सार्वजनिक जग्गामा रहेको क्रसरलाई हटाएर मानव वस्ती बसाल्न योग्य क्षेत्र बनाउनु पर्नेछ’, उनको भनाई छ । एकतिर राजमार्गको धुवाँ-धुलो त अर्कोतर्फ क्रसर उद्योगको प्रदुषणले हलेदी क्षेत्र बस्न योग्य नभएकाले क्रसरलाई हटाउनु आवश्यक रहेको उनले बताए ।

क्रसरका कारण हलेदी क्षेत्रमा दैनिक प्रदूषण बढिरहेको उदयराज गुरुङ बताउँछन् । क्रसरबाट निस्कने धुलो, धुवाँसँगै ध्वनि प्रदुषणले दैनिकी कष्टकर बनेको उनको भनाई छ । ‘प्रदुषणले हाम्रो स्वास्थ्य र वातावरण बिगारेको छ । सम्झौता अवधि सकिएपछि उद्योग हटाउनलाई  अनुरोध गर्‍यौँ सुनवाइ भएँ । म्याद सकिएपछि उद्योग यहाँबाट हटाउनुपर्ने हाम्रो माग हो’, उनले भने ।  क्रसरको प्रदुषणले बस्तुभाउले घाँसपातसमेत खाने अवस्थामा नरहेको गुरुङले बताए ।

क्वालिटी क्रसर १५ वर्षदेखी हलेदीमा सञ्चालित छ । २०६३ सालमा सञ्चालमा आएको क्रसर उद्योगले पाँच वर्षपछि २०६८ सालमा १० वर्षका लागि तत्कालिन दुलेगौँडा गाविससँग ३० रोपनी सार्वजनिक जग्गा भाडामा लिएर सञ्चालन गर्दै आइरहेको छ ।  सम्झौतामा प्रति रोपनी जग्गाको भाडा दुई हजार ४२० रुपैयाँ तोकिएको थियो । उक्त रकम  प्रत्येक दुई वर्षमा १० प्रतिशत बढ्ने उल्लेख थियो । सार्वजनिक जग्गा प्रयोग गरे बापत क्वालिटीले तिर्ने भाडाको २० प्रतिशत दुलेगौँडा गाविसको आम्दानी हुने र ८० प्रतिशत यहाँको शिलादेवी प्राथमिक विद्यालयको भौतिक र शैक्षिक विकासमा खर्चिने भनेर क्रसर उद्योग, विद्यालय र तत्कालीन गाविसले गरेको सम्झौतामा उल्लेख छ ।  

तर, सम्झौतामा उल्लेख सर्तहरू कार्यान्वयन नभएको शिलादेवी प्राथमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टिकाराम रिमालले बताए । ‘पहिला विद्यालयले ताकेता गर्दा पनि उद्योगले रकम तिरेन् । त्यसपछि नगरपालिकामा जनप्रतिनिधि आएपछि नगरपालिकाले भाडा लिने भन्यो । नगरपालिकालाई पनि जग्गा भाडा दिएको पाईदैन्’, उनले भने । जग्गा भाडा पनि नतिर्ने र वस्तिलाई प्रत्यक्ष असर भएकाले हलेदीबाट हटाउन खोजेको उनले उल्लेख गरे ।

पृथ्वी राजमार्ग र सेती नदीको बिचमा सञ्चालित यहाँका क्रसर उद्योग मापदण्ड विपरित छन् । हलेदी क्रसर उद्योग हटाउन बाहिरबाट ढुंगा गिट्टी बालुवा ल्याए नल्याएको अनुगमन गर्न स्थानीयले अनुगमन समिति नै बनाएका छन् । रवीन्द्र रिमालको संयोजकत्वमा १२ सदस्यीय अनुगमन समिति गठन गरिएको छ । २९ फागुनपछि क्रसर उद्योगमा बाहिरबाट कच्चा पदार्थ ल्याउन नदिनका लागि समितिले अनुगमन गर्नेछ । 

 

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - २१:४५:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology