बिरादत्त भट्ट, दार्चुला, १२ फागुन । दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमापुलबाट एक जना नेपाली महिलालाई भारतीय एसएसबीले चरेससहित पक्राउ गरेको छ ।
दुँहु गाउँपालिका वडा नम्बर २ हिकिला घर भएकी ४० वर्षीया सरिता बडाललाई आइतबार २ सय ७० ग्राम लागूऔषध चरेससहित पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।
खलंगामा रहेको सीमापुल प्रत्येक दिन बिहान ७ बजे खुल्ने र बेलुका ५ बजे बन्द हुन्छ । तर, फागुन ७ गते साँझ साढे सात बजे बिहेका लागि सीमापुल खोलिएको थियो । बिहेका लागि खोलिएको सीमापुलमा चरेस लगेर भारत प्रवेश गर्न लागेकी बडाललाई भारतीय एसएसबीले चेकजाँच गर्दा पक्राउ गरेको हो ।
नेपाली महिला भारतमा चरेससहित पक्राउ परेको जानकारी दोस्रो दिन बेलुका भारतीय पक्षले नेपाली सुरक्षा निकायलाई दिएको पुलघाट प्रहरी पोस्टका इन्चार्ज सहायक प्रहरी निरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।
पक्राउ परेकी महिलालाई भारतीय अदालतको आदेशमा डीडीहाट जेलमा राखिएको जानकारी प्राप्त भएको उनले बताए ।
फाईल तस्विर







