सजना तिमल्सिना, काठमाडौँ, १२ फागुन । आम्दानीभन्दा खर्च बढि हुन थालेपछि दैनिक गुजारा गर्नै समस्या हुन थालेको उपभोक्ताहरूले बताएका छन् । पछिल्लो समय खाद्यान्नदेखि लत्ताकपडासम्म महङ्गो हुँदै गएपछि नियन्त्रणको लागि सरकारले नै सहुलियत दिनुपर्ने लगायतका माग उपभोक्ताहरूको छ ।
ललितपुरका श्रृजना आचार्यले आम्दानीभन्दा खर्च धेरै हुन थालेपछि गरि खाने वर्गलाई घर चलाउनै समस्या हुन थालेको बताउनुभयो । सोलुखुम्बुबाट दुई वर्षअघि काठमाडौँ आउनुभएका सिर्जना तामाङले समयसँगै महङ्गी पनि बढ्दै जाँदा बचत गर्न निकै कठिन भएको बताउनुभयो । केन्द्रीय तथ्याङ्क विभागका अनुसार एक नेपालीको औसत आम्दानी मासिक १७ हजार ८ सय ९ रुपैयाँ मात्र छ । यो आम्दानीको कम्तिमा ८० प्रतिशत खर्च भइरहेको छ ।
अन्तराष्ट्रिय बजारमा नै महङ्गी हुँदा नेपालमा पनि त्यसको प्रभाव परेको यसक्षेत्रका जानकार बताउँछन् । कोरोना महामारीपछि विश्व अर्थतन्त्रमा नै असर गर्दा महङ्गी बढेको विभिन्न अध्ययनले समेत देखाइसकेको छ । यो अवस्थामा महङ्गी नियन्त्रण गर्न सरकारले दीर्घकालिन योजना ल्याउनुपर्ने अर्थशास्त्री डा. दधि अधिकारीले बताउनुभयो । हरेक क्षेत्रमा महङ्गी बढ्दा दैनिक ज्यालादारी गरेर खानेहरू नै पहिला प्रभावित हुने भएपनि राजनीतिक जोडघटाउबाट फुर्सद नपाएको सरकारले जनताको चुल्हो बल्यो कि बलेन चासो दिएको छैन ।