Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

जुनसुकै बेला सरकारबाट बाहिरिन्छौं : गुरुङ, पार्टीभित्र सहमति भएरै एमसीसी टेबुल भएको हो : मन्त्री झाक्री

जुनसुकै बेला सरकारबाट बाहिरिन्छौं : गुरुङ, पार्टीभित्र सहमति भएरै एमसीसी टेबुल भएको हो : मन्त्री झाक्री

इच्छाकामना न्युज

८, फाल्गुण २०७८
जुनसुकै बेला सरकारबाट बाहिरिन्छौं : गुरुङ, पार्टीभित्र सहमति भएरै एमसीसी टेबुल भएको हो : मन्त्री झाक्री

ईश्वरी बराल, काठमाडौं, ८ फागुन । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आफूहरू जुनसुकै बेला सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी आफूहरूको सुझावविपरीत यथास्थितिमै संसदमा टेबुल गरेकाले जुनसुकै बेला सरकारबाट बाहिरिने बताएका हुन् ।

images

एमसीसी सदनमा टेबुल भइसकेकाले अब अनुमोदनको प्रक्रियासम्म कुर्ने, निर्णयार्थ प्रक्रियामा सहभागी हुने र सभामुखको रुलिङ हेरेर चित्त नबुझे सरकारबाट बाहिरिने गुरुङको भनाइ छ । माओवादीले परिमार्जनसहित एमसीसी टेबुल गर्नुपर्ने अडान राख्दै आए पनि सरकारले जस्ताको तस्तै टेबुल भएपछि अब सदनमा प्रस्तुत हुने रणनीति पनि परिवर्तन गर्ने उनले बताए । प्रतिनिधिसभाको अर्को बैठक अब आगामी बिहीबार बस्दैछ ।

सत्ता गठबन्धनमा आवद्ध सबै दलको समर्थनविना सरकारले आज एमसीसी टेबुल गरेको हो । सत्ता गठबन्धनका दलबीच मात्रै नभई एउटै दलका शीर्ष नेताहरू समेत पक्ष र विपक्षमा उभिएका छन् । गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस पहिलेदेखि नै एमसीसी अनुमोदन हुनुपर्ने पक्षमा थियो भने माओवादी केन्द्र यथास्थितिमा अनुमोदन गराउन नहुने अडानमा थियो । एकीकृत समाजवादीले परिमार्जन गरेर मात्रै टेबुल गर्न सरकारलाई आग्रह गर्दै आएको थियो । तर अहिले सैद्धान्तिक सहयोग मात्रै गरेको जनाएको छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एमसीसीको पक्षमा र नेता झलनाथ खनाल विपक्षमा उभिएका छन् । जनता समाजवादी पार्टीका नेताहरू पनि पक्ष र विपक्षमा छन् ।

जनमोर्चा एमसीसी खारेजीको माग राखेर सडकमै ओर्लिसकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ चार दलका शीर्ष नेताहरूले आज बिहान मात्रै एमसीसी सदनमा टेबुल गर्ने निर्णय गरेका हुन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मात्रै बैठकमा सहभागी थिए ।

एकीकृत समाजवादीका नेता खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई बैठकमा बोलाइएको थिएन । एमसीसी सदनमा टेबुल गर्ने निर्णय सार्वजनिक भएलगत्तै नेता खनालले बिरोध जनाएका थिए । उनले भनेका थिए, ‘एमसीसी कुनै पनि हालतमा सदनमा टेबुल हुन सक्दैन । एमसीसी कुन सदनमा टेबुल हुन्छ हेरौंला ।’ 

टेबुल गर्नेबारे पार्टीमा सहमति भएको थियो : मन्त्री झाँक्री

सहरी विकासमन्त्रीसमेत रहेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र सैद्धान्तिक सहमति भएर नै एमसीसी टेबुल गर्न सरकारलाई सहयोग गरेको बताइन् । उनले एमसीसी सदनमा टेबुल गर्न पार्टीभित्र सहमति भएको बताइन् ।  ‘आज सदनमा टेबुल भयो, परिमार्जनको विषय सदनमा उठ्ला, पार्टीको संसदीय दलको बैठक बसेर यसबारे रणनीति बनाउँछौ, यसबारे छलफल गर्न पर्याप्त समय छ, एमसीसी सदनमा टेबुल गर्न सरकारलाई  सैद्धान्तिक रूपमा सहयोग गरेकोले सरकारबाट बाहिरिने भन्ने हुँदैन,’ न्युज कारखानासँग उनले भनिन् ।

विरोधमा भ्रातृ संगठनको नाराजुलुस

सदनमा एमसीसी टेबुल गर्ने निर्णय सार्वजनिक भएलगत्तै यसको विरोधमा रहेका विभिन्न राजनीतिक दल तथा भ्रातृ संगठनले नयाँ बानेश्वरस्थित संसद भवनबाहिर नाराजुलुस गरेका छन् ।  विरोध प्रर्दशनले काठमाडौं उपत्यकाको सडक र सवारी सञ्चालन दिनभर अस्तव्यस्त बनेको थियो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा एमसीसी टेबुल गर्ने सहमति जनाएर निस्कन नपाउँदै उनकै पार्टीनिकट युवा तथा विद्यार्थी संघ पनि सडकमा विरोध गरिरहेका थिए । यस्तै, माओवादी केन्द्रको भ्रातृसंगठन पनि सडकमा उत्रिएको थियो ।    

images
प्रकाशित मिति :फाल्गुण ८, २०७८ आइतवार - १८:३५:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology