चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताउनुभएको छ ।
“जनता जोगाउनका लागि बजेट दोस्रो कुरा हो । जनतालाई कसरी जोगाउन सकिन्छ भन्ने पहिलो प्राथमिकता हो”, उहाँले भन्नुभयो, “नागरिकको जिउ, बजारको इतिहास र त्यहाँका व्यवसायीको सम्पत्ति जोगाउन तत्काल के गर्न सकिन्छ र दीर्घकालीन रूपमा के गर्नुपर्छ भन्ने विषयमा स्पष्ट योजना आवश्यक छ ।”
आफ्नो निर्वाचन क्षेत्र भएकै कारण चितवनलाई विशेष प्राथमिकता दिनुपर्ने मान्यता आफूले नराखेको स्पष्ट पार्दै लामिछानेले देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले पु¥याएको क्षति र आवश्यकताका आधारमा राज्यले स्रोतसाधन परिचालन गर्नुपर्ने बताउनुभयो । कर्णाली, सुदूरपश्चिम र मधेसलगायतका क्षेत्रमा पनि बाढीबाट प्रभावित नागरिकको समस्या उत्तिकै महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।
सभापति लामिछानेले चितवनको समस्या पनि अन्य प्रभावित क्षेत्रसरह आवश्यकताका आधारमा सम्बोधन हुने बताउँदै तत्काल आवश्यकपर्ने कामको अध्ययन लगभग तयार भइसकेको जानकारी दिनुभयो । अध्ययनबाट पहिचान भएका योजनाका लागि स्रोत सुनिश्चित गर्न आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सरोकारवालालाई आश्वस्त रहन आग्रह गर्नुभयो ।
छलफलका क्रममा सभापति लामिछानेले नारायणी नदीको कटान तथा डुबानबाट बजार क्षेत्रमा परेको जोखिमबारे समयमै जानकारी गराएर अध्ययन टोली परिचालन गर्न सहयोग पु¥याएको भन्दै उद्योग वाणिज्य सङ्घ चितवनलाई धन्यवादसमेत दिनुभयो । छलफलअघि लामिछानेले नारायणी नदीले कटान गरेको क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको थियो ।
छलफलका क्रममा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले नदी कटानको समस्यालाई गम्भीरतापूर्वक लिएर समाधानका उपाय खोज्न सुरुदेखि नै सभापति लामिछानेले पहल गर्दै आउनुभएको बताउनुभयो । उहाँले नदी कटानको समस्या दीर्घकालीन रूपमा समाधान हुनेगरी आवश्यक योजना बनाउन उहाँसँग आग्रह गर्नुभयो ।