काडमाण्डौ, ७ फागुन । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विषयले सत्ता गठबन्धन भित्रको विवाद झन् बढ्दै गएको छ । पटकपटक एमसीसीको विषयमा दलहरूबीच छलफल भएपनि कुनै सहमति जुट्न सकेको छैन । दलहरूबीच सहमति हुन नसक्दा गठबन्धनभित्र एमसीसी पास वा फेल भन्दा पनि संसदमा टेबुल गर्ने विषयमै विवाद देखिएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले संसोधन नगरी एमसीसी संसदमा लैजान नहुने बताउँदै आएका छन् भने नेपाली काँग्रेस, जसरी पनि एमसीसी पास गर्ने रणनीतिमा छ । उसले एमसीसीका बारेमा सहमति नभए सत्ता गठबन्धन भत्किन सक्ने चेतावनी नै दिएको छ ।
हिजो संसद बैठक पछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै, काँग्रेस महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा लैजाने विषयमा सहमति नभए गठबन्धन टुट्ने बताउनुभयो । तर, एकिकृत समाजवादीका नेता झलनाथ खनालले भने एमसीसी र गठबन्धन अलग विषय भएको बताउनुभयो । अहिलेकै अवस्थामा एमसीसी पास नहुने र यसकै कारण गठबन्धन नभत्किने उहाँको दाबी छ ।
प्रमूख प्रतिपक्षी दल नेकपा एमाले भने सत्तापक्ष एमसीसीबारे स्पष्ट नभएसम्म आफ्नो धारणा सार्बजनिक नगर्ने अडानमा छ । सीआईएनसँग कुरा गर्दै उपाध्यक्ष सुवास नेम्वाङले एमाले एमसीसी पास र फेल दुबै पक्षमा नरहेको बताउनुभयो ।
यता, नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे पनि अमेरिकाले हिंसा वा हिंसा भड्काउने किसिमका विचार नस्वीकार्ने बताउनुभएको छ । आजसामाजिक सञ्जाल ट्वीटर मार्फत उहाँले यस्तो बताउनुभएको हो ।
अर्को तिर चीनले एमसीसी पारित गर्न अमेरिकाले नेपालसामु दबाब दिइरहेको आरोप लगाएको छ। आज बेइजिङमा पत्रकार सम्मेलन गरी चीनको विदेश मन्त्रालयले एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने चेतावनी दिएको छ।
यसैबीच एमसीसीको विषयलाई लिएर नेपाल कुटनितिक जटिलतामा फस्न सक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । सीआईएनसँग कुरा गर्दै परराष्ट्रविद् डा. लोकराज बरालले नेपालले कुटनितिक चतुरता देखाउनु पर्ने बताउनुभयो ।