‘यो एउटा प्राकृतिक पूजा हो, वर्षेनी माघ १५ गतेदेखि फागुन १५ गतेसम्ममा लगन जुराएर मकै बिहे गर्ने चलन छ’, गुरुङले भने । मकै बिहे गरी पछि मात्र मकै रोप्ने चलन रहेको उनले बताए । दरौदी दैनिकबाट
गोरखा, ६ फागुन । अब बैशाखसम्म लगन छैन भनेर फागुन छ गते(शुक्रबार) धेरै जोडीको बिहे सम्पन्न भयो । यही लगन छोपेर उत्तरी गोरखाको लाप्राकमा पनि मकै बिहे धुमधामले मनाइएको छ ।
बिहे नगरी मकै रोप्नु हुन्न भन्ने धार्मिक, साँस्कृतिक मान्यता अनुसार लाप्राकीले शुक्रबार मकै बिहे गरेका हुन् । ‘मकै बिहे गरेपछि अब बल्ल मकै रोप्न सुरु हुन्छ’, वडाअध्यक्ष राज गुरुङले भने, ‘यसपालि पानी पनि राम्रोसित आएको छ । मकैखेती राम्रै होला ।
उनका अनुसार शुक्रबार धार्चे गाउँपालिका वडा नं. ४ लाप्राकमा गाउँ नै उर्लिएर धुमधामका साथ विवाह सम्पन्न गरेका छन् । गाउँले सबै मकैको जन्ती गए, मकैको भोज भतेर खाए, नाचगान गरे ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका भित्रका लाप्राक, गुम्दा, सिङ्ला, उहिया, खोर्ला, लप्सीबोट, यमगाउँ, खानीगाउँ, लापु लगायतका गाउँमा परापूर्व कालदेखि मकै विवाह गर्ने चलन छ । अरु गाउँमा यसअघिका लगनमा मकै बिहे सम्पन्न भइसकेका छन् ।

प्रकृति पुजक यहाँका बोन धर्मावलम्बीहरु मकैको बिहे गरेपछि मात्र मुख्य बालीको रुपमा रहेको मकैखेती लगाउन सुरु गर्छन् । मकैको उव्जनी राम्रो होओस्, असिना पानीले नष्ट नगरोस्, रोग नफैलियोस भनेर मकैको यहाँ मकैको विहे गर्ने गरेको वडाअध्यक्ष गुरुङ बताउँछन् । ज्योतिषीले निकालेको साइतअनुसार विवाहको अघिल्लो दिन केही घोगा मकै जमिनमा गाडेर राखिन्छ ।
विवाहका दिन बिहानैदेखि गाउँभरिका मानिस लाप्राकको ठूलोआँगनमा जम्मा हुन्छन् । अनि सिंगारेर एक जना बालकलाई डोलीमा राखेर ढ्याङ्ग्र्रो, मादल र झ्याली लगायतका बाजागाजासहित जन्ती जाने गर्छन् । ठूलो आँगनबाट मनिडाँडा हुदै केही पर जंगलमा बेहुली घरका रुपमा बनाएको अर्काको सानो झुप्रोमा कन्या राखेको ठाउँमा जन्ती पुग्छ ।

जन्तीले ती कन्यालाई लिएर पुनः बाजागाजासहित लाप्राक गाउँको परिक्रमा गर्छन् । जन्ती जाँदा आफ्नो घरबाट लगेको एक–एक घोगा मकै एकै ठाउँमा थुप्राइन्छ । त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ । यही मकैलाई अरु बिउमा मिसाएर बारीमा मकै रोपिन्छ ।
बेलुका फेरि ठूलोआँगनमा पुगी नाचगान गरी भुटेको मकैको भोज खाएपछि साँझ घाटु नाँचसँगै मकै विहे समापन हुन्छ ।
‘यो पुरानो परम्परा हो, यसरी मकैको विहे गरेपछि वल्ल मकै लगाउन सुरु हुन्छ । विहे नगरी मकै लगाउदा अशुभ हुन्छ भन्ने मान्यता छ,’ स्थानीय सिर्जन गुरुङले भने ।
‘यो एउटा प्राकृतिक पूजा हो, वर्षेनी माघ १५ गतेदेखि फागुन १५ गतेसम्ममा लगन जुराएर मकै बिहे गर्ने चलन छ’, गुरुङले भने । मकै बिहे गरी पछि मात्र मकै रोप्ने चलन रहेको उनले बताए । दरौदी दैनिकबाट