काठमाण्डौ, ६ फागुन । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) छलफलका लागि टेबल गर्ने सरकारकारको तयारी भएको भनिए पनि सङ्घीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा यो परेको छैन । संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेको सदनको अवरोध हटाउने बारेमा छलफल हुने सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
एमसीसी परियोजनाको बारेमा साझा धारणा बनाउने बारेमा पनि बैठकमा कुराकानी हुने बताइएको छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसले एमसीसी परियोजना बारेको छलफल हुनबाट सभामुखले रोक्न नमिल्ने बताउँदै आएको छ ।