भावना पौडेल, डडेल्धुरा, ५ फागुन । देशभरि नै कुनै न कुनै हिसाबले महिनावारीलाइ वार्ने प्रचलन अझै हटेको छैन । सुदूरपश्चिम प्रदेशमा सरकारी तहबाट नै छाउ गोठहरू भत्काउने अभियान चल्छ, गोठहरू भत्काइन्छन्, तर छाउ बार्ने चलन हट्न नसक्दा विद्यालय तथा कलेज तहमा अध्ययन गर्ने किशोरीहरू अफ्ठेरोमा पर्ने गरेका छन् ।
महिनावारी बार्ने चलनका कारण गाउँबाट बजार वा सदरमुकाम आएर डेरा गरि बस्ने किशोरीहरू समस्यामा परेका छन् । बिशेषगरि कलेजमा पढ्नको लागि किशोरीरू गाउँबाट सदरमुकाम वा बजारमा डेरा गरेर बस्ने गर्छन् । डेरामा बस्दा महिनावारी भएको समयमा समस्या पर्ने गरेको उनीहरूको गूनासो छ ।
महिनावारी हुँदा खानेपानीको धारा तथा इनार छुन नपाउने, घर बाहिरको मठ वरिपरि जान नदिने, छत तथा घरका अन्य निश्चित स्थानमा जान नपाइने जस्ता समस्याका कारण डेरा गरेर बस्दा समस्या हुने गरेको किशोरीहरूको अनुभव रहेको सदरमुकाममा डेरा गरी बस्दै आउनुभएका सावित्री भट्ट बताउनुहुन्छ । सुदूरपहाडी जिल्लाका अधिकांश किशोरीहरू पढाईको शिलशिलामा डेरा गरेर बस्ने गरेका छन् । पढि लेखि सामाजिक चेतना फैलाउने र असल नागरिक बन्ने सोँचका साथ अगाडी बढ्ने क्रममा सदरमुकाम तथा बजारमै यस्तो विभेद भोग्नु पर्दा नराम्रो लाग्ने किशोरीहरू बताउँछन् ।
महिनावारी एउटा प्राकृतिक प्रक्रिया हो भन्ने सबैले बुझेपनि व्यवहारमा लागू गर्न नसक्दा समस्या भएको एकजना घरबेटी, सञ्जु भट्ट बताउनुहुन्छ । नेपालको कानुनले यदि कसैले महिनावारीको समयमा विभेद गरे गर्न लगाए वा छाउपडि बसे वा बस्न बाध्य बनाएको खण्डमा तीन महिना कैद, वा तीन हजार रुपैंया जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था गरेको छ ।