देवघाट, १२ मंसिर । चितवनको एकमात्र संस्कृत विद्यालय सिताराम संस्कृत मावि देवघाटमा लागेको ताला खुलेको छ। शिक्षक छनौटको विषयमा विवाद भै अनुचित तवरले विद्यालयका प्रध्यानाध्यापकलाई निष्कासन गर्न लागेको भन्दै लागेको ताला ३ दिन पछि आज बल्ल खुलेको हो।
अनुचित रुपमा विद्यालयका प्रध्यानाध्यापकलाई राजिनामा गर्न बाध्य बनाएको भन्दै विद्यालयको प्रशासनमा विद्यालयका पूर्व विद्यार्थीहरु बिकास ढकाल र सुरज घिमिरे नेतृत्वको स्थानीय युवा टोलिले मसिर ९ गते व्यवस्थापन समिति बैठक बसिरहेकै बेला तालावन्दी गरिदिएका थिए।
विद्यालयमा रिक्त रहेको अंग्रेजी विषयको निमावि शिक्षक दरबन्दीमा आउने शिक्षक छनौट गर्ने क्रममा विद्यालयमा राजनीतिकरण भएको र सो घटनालाई लिएर प्रअलाई अनुचित रुपमा दबाबमा पारी राजिनामा मागिएको भन्दै तालावन्दी सम्मको घटना क्रम घटेको थियो।
तालावन्दी गर्ने भुतपुर्व विद्यार्थी र सरोकारवाला पक्षहरु बिच शुक्रबार बसेको छलफलबाट विद्यार्थीहरुले राखेको ४ बुदे माग पूरा गर्ने सहमति भएपछि विद्यालय प्रशासनमा गरिएको अनिश्चितकालीन ताला विद्यार्थीहरुले खोलीदिएको हो।