वि.सं. २०७२ असोज ३ गते जारी भएको वर्तमान संविधानले सुनिश्चित गरेको आजको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नेपालीजनको गौरवको विषय हो । विदेशी शत्रुहरुबाट देशको स्वधीनता, सार्वभौमसत्ता र स्वतन्त्रता अक्षुण्ण राख्नको लागि अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुँवर लगायतका नेपाल आमाका महान् सपूतहरुले सैन्य साधनको अभावका वावजुद कठिन युद्ध लडे । त्यसैगरी आन्तरिक रुपमा देशभित्र शोषण र निरङ्कुशताको विरुद्ध विभिन्न कालखण्डमा हजारौँ वीर वीरङ्गनाहरुले बलिदान दिएका छन् । शासकहरुको शोषण र निरङ्कुशताको अन्त्यका लागि विद्रोह गर्ने क्रममा प्रथम पटक शहादत प्राप्त गर्ने व्यक्ति थिए, लखन थापा मगर । नेपालमा वि.सं. ज्ञढण्घ मा जहानियाँ राणा शासनको स्थापना गर्ने जङ्गबहादुर राणाको सरकार र तत्कालीन निरङ्कुश शासन व्यवस्था विरुद्ध लखन थापाले पहिलो पटक जनतालाई एकताबद्ध गरी राजनीतिक सङ्गठन गरेका थिए । वि.सं. १९२७ देखि १९३३ सम्म ६ वर्ष लखन थापा मगरको नेतृत्वमा भएको उक्त जनविद्रोहका क्रममा जनसरकार र जनसेना गठन गरी जङ्गबहादुर राणाको सरकार विरुद्ध वैकल्पिक रुपमा समानान्तर सरकार समेत गठन गरिएको थियो । राणा शासनको अन्त्य गरी प्रजातान्त्रिक (लोकतान्त्रिक) शासन व्यवस्थाको स्थापनाका लागि जनसरकार समेत गठन गरी नेपाली जनतालाई अघि बढाएको उक्त विद्रोह नेपालको इतिहासमा ‘प्रथम जनविद्रोह’ थियो । उक्त जनविद्रोहको नेतृत्व गरेकै कारणले जङ्गबहादुर राणाको ठाडो आदेशमा वि.सं. १९३३ मा देवीदत्त पल्टनका सैनिकद्वारा झुण्ड्याएर मारिएका लखन थापा मगर नेपालका प्रथम शहीद हुन् । व्यक्तिगत र पारिवारिक स्वार्थभन्दा माथि उठेर सगोल राष्ट्र र सम्पूर्ण नेपाली जनताहरुको हितको लागि लोकतान्त्रिक शासन व्यवस्था स्थापनार्थ जनस्तरबाट गरिएको सङ्घर्षमा बलिदानी दिने लखन थापा मगर पहिलो व्यक्ति थिए । त्यसैले उनलाई नेपाल सरकारले वि.सं. २०७२ असोज ३ गते नेपालको पहिलो शहीदको मान्यता प्रदान गरेको छ । जनअधिकार र लोकतन्त्र स्थापनाका लागि प्राण उत्सर्ग गर्ने सबैभन्दा पहिलो व्यक्ति भएकाले उनी राष्ट्रको सच्चा विभूति हुन् ।
१. सैनिक सेवाको सिलसिलामा भारतको लखनउ यात्रा
नेपाली सेनाको पुरानो गोरख गण (मगर पल्टन) मा वि.सं. १९११ मा ‘लक्ष्मणसिंह थापा मगर’ को नामबाट भर्ना भएका प्रथम शहीद लखन थापा मगर सैनिक सेवामा रहँदा ई.स. १८५७ मा भारतको लखनउ पुगेको नेपालको सैनिक इतिहासले पुष्टि गरेको छ । वि.सं. १९२७ पछि राणा शासन विरुद्ध जनविद्रोही अभियान अघि बढाउने सिलसिलामा गोरखाका राजा रामशाहको पालाका सिद्ध लखन थापा मगरको प्रसिद्धीको उपयोग गर्ने रणनीति अनुरुप उनले आफूलाई ‘लखन थापा मगर’ नामकरण गरेको देखिन्छ । कतिपय लेखकहरुले भारतको लखनउ निवासी भएकाले उनको नाम ’लखन’ राखिएको तर्क गरेका छन् । तर यो तर्क ऐतिहासिक घटनाक्रम र तथ्यहरुको गहन अध्ययन र विश्लेषण नगरी सतही अनुमानका आधारमा आएको देखिन्छ । उनको नाम ’लखन’ कसरी रहन गयो भन्ने सन्दर्भमा तल छुट्टै उप–शीर्षकमा चर्चा गरिएको छ ।
लखन थापा मगर आफ्नो इच्छा वा चाहनाले भारतको लखनउ गएका थिएनन् ।सैनिक सेवाको सिलसिलामा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको आदेशमा आफ्नो पल्टनसँगै उनी बाध्य भएर ई.स.१८५७ को भारतीय विद्रोह दबाउन पुगेका थिए । त्यतिबेला जङ्गबहादुर आफै २६ नेपाली पल्टनको नेतृत्व गर्दै भारत गएका थिए । वेलायतको उपनिवेश विरुद्ध भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेशको उत्तरी भाग, दक्षिणी पञ्जाव (हालको हरियामा) र विहारको पश्चिमी भागमा भारतीय जनताहरुले विद्रोह गरेका थिए । लखनउ, गोरखपुर, फैजावाद लगायतका भू–भागहरुमा अङ्ग्रेजको अवस्था निकै नाजुक बन्न पुगेपछि भारतीय अङ्ग्रेज सरकारको माग बमोजिम नेपालका तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले नेपालबाट सैन्य सहयोग गरेका थिए । लखन थापा मगर त्यतिवेला आफ्नो पल्टनसँगै भारतको लखनउमा खटिएका थिए । भारतको आन्तरिक मामिला भएकाले त्यतिवेला जङ्गबहादुर तटस्थ बस्न सक्दथे । तर त्यसो उनले नगरी उल्टै अङ्ग्रेज सरकारलाई सहयोग गरेर भारतीय जनताद्वारा स्वतन्त्रता प्राप्तिको निम्ति गरिएको विद्रोहलाई कुल्चने दुस्साहस गरे । उक्त विद्रोह दबाउन नेपाली सेनाको दुरुपयोग गरिएको प्रति लखन थापा मगर जस्ता सचेत व्यक्तिहरु क्षुब्ध थिए । त्यसैले ‘जङ्गबहादुरले नेपाल म्लेच्छ (अङ्ग्रेज) लाई बेच्यो’ भनी लखन थापा मगरले जनविद्रोहका क्रममा उद्घोष गरेका थिए ।
भारतबाट काठण्माडौं फर्कने वित्तिकै गुरुङ पल्टनको एकजना जम्दार श्रीपती गुरुङले जङ्गबहादुर राणाको विरुद्ध सैनिक विद्रोह गर्ने आँट गरे । तर यस सम्बन्धमा रहस्य खुलेपछि उनलाई काठमाण्डौँको टुँडिखेलमा आयोजित विजय परेडको अवसरमा नै वि.सं. १९१४ जेठ १२ गते हत्या गरियो ।यस घटनापछि नेपालमा सैनिक विद्रोहद्वारा राणा शासक जङ्गबहादुरलाई पदच्यूत गरी निरङ्कुश जहानियाँ शासनको अन्त्य गर्ने सम्भावना नभएको कुरा लखन थापाले शिक्षा पाए । उनले त्यति वेला राणा शासनको अन्त्य गरी लोकतान्त्रिक शासन व्यवस्था स्थापनाका लागि सम्पूर्ण नेपाली जनताहरुलाई सचेत र संगठित गरी ‘जनविद्रोह’ गर्नुपर्ने आवश्यकता महसुश गरे । सोही कारणले उनी वि.सं. १९२७ मा सेनाको जागिर त्यागी जनविद्रोही अभियानमा क्रियाशिल भए ।
उनको विद्रोह निरङ्कुश राणा शासनको र लोकतान्त्रिक शासन प्रणालीको स्थापनाका लागिथियो । उक्त विद्रोहलाई सशक्त बनाउने रणनीतिको रुपमा मात्रै सिद्ध लखन थापा मगर र मनकामना माईको प्रचार र उपयोग गरिएको थियो । जुन रणनीति तत्कालीन समयका लागि सामयिक, औचित्यपूर्ण र सान्दर्भिक थियो ।
२. सिद्ध लखन थापा मगर र मनकामना माईको रणनैतिक उपयोग
नेपालका प्रथम शहीद लखन थापा मगरको जन्म आफ्ना माताका जुम्ल्याहा सन्तानमध्ये कान्छो सन्तानको रुपमा वि.सं. ज्ञडढज्ञ मा भएको थियो । त्यतिबेलाको नेपाली समाजको प्रचलन अनुसार दाइको नाम ‘राम’ र भाइको नाम ‘लक्ष्मण’ राखियो । भाइ लक्ष्मण नै नेपालको राजनैतिक इतिहासमा प्रथम शहीद लखन थापा मगरको नामबाट परिचित र स्थापित भए । नेपाली सेनाको पुरानो गोरख गण (मगर पल्टन)मा भर्ना हुँदा उनको नाम लक्ष्मणसिंह थापा मगर लेखाइएको थियो ।
वि.सं. १९२७ मा सेनाको जागिर त्यागेपछि लखन थापा मगरले राणातन्त्र विरुद्ध नेपाली जनताहरुलाई चेतना प्रदान गरी जनताहरुलाई एकताबद्ध गराई राजनीतिक संङ्गठन गर्ने कार्य सुरु गरे । त्यतिवेलाको सामाजिक परिवेशमा राज राम शाहको पालाका गोरखा दरबारका भारदार (सल्लाहकार) भई गोरखाको कफ्याकमा अवस्थित मनकामना माईका पहिलो पूजारी बनेका रहेका सिद्ध लखन थापा मगर अत्यन्तै लोकप्रिय रहेका थिए । त्यसैगरी मनकामना माईप्रति त्यतिवेलाका मानिसहरुले ठूलो श्रद्धा र आस्था प्रकट गर्दथे । सोही करणले सिद्ध लखन थापा र मनकामना माईको प्रसिद्ध र जनविश्वासलाई उपयोग गरी जङ्गबहादुर राणाको सरकार विरुद्ध ठूलो जनमत सिर्जना गर्ने विचार प्रथम शहीद लखन थापा मगरको मनभित्र उब्जियो । त्यसैले एकत्रित जनतासामु उनले एकदिन उद्घोष गरे ‘म सिद्ध लखन थापा मगरको अवतार हुँ, मलाई मनकामना माईले जङ्गबहादुरलाई नेपालको शासनको बागडोरबाट हटाएर नेपालमा सुनौलो (लोकतान्त्रिक) युग फिराऊ भनेर आज्ञा दिनुभएको छ । लौ हामी सबै तयार हौऔँ ।’ उनको यस्तो वाणीबाट जङ्गबहादुर राणाको निरङ्कुश सरकार र तानाशाही राणातन्त्रका विरुद्ध नेपाली जनमानसमा गहिरो प्रभाव प¥यो । जसको फलस्वरुप सञ्चार माध्यमको व्यवस्था नभएको तत्कालीन समयमा पनि करिव दुई हजारको सङ्ख्यमा नेपाली जनताहरु उनको तेतृत्वमा भएको जनविद्रोहमा प्रत्यक्ष रुपमा संलग्न भए । उनले आफूलाई सिद्ध लखन थापा मगरको अवतार भएको घोषणा गरेकाले जनविद्रोहको क्रममा उनलाई जनताहरुले’लखन थापा मगर’ भन्ने उपाधियुक्त नामबाट सम्बोधन गर्न थाले । शहीद लखन थापा मगरले जनविद्रोहमा संलग्न जनताहरुको सहयोगमा एउटा बलियो किल्ला बनाए । गोरखा जिल्लाको हालको शहिद लखन गाउँपालिका वडा नं ७, बुंकोट काहुले भङ्गार भन्ने गाउँमा निर्माण गरिएको उक्त किल्ला भित्र पाँच तले दरवार बनाई त्यहीँ नै मनकामना माईको पूजा समेत सञ्चालन गरिन्थ्यो । विद्रोहमा जनतालाई आर्कषित गर्न र राणाशासकहरुलाई धार्मिक कार्य भइरहेको भनी भ्रमित बनाएर जनसंगठनलाई बलियो बनाउने उद्देश्यले लखन थापा मगरले उक्त रणनीति अवलम्बन गरेका थिए । कतिपय लेखक तथा इतिहासकारहरुले लखन थापा मगरको विद्रोहलाई राजनैतिक भन्दा पनि धार्मिक गतिविधि भएको भनी टिप्पणी गरेका छन् । यो उनको विद्रोह र रणनीतिक उपायहरुको बारेमा गहन अध्ययन र जानकारी नभएको कारणले गरिएको सतही टिप्पणी बाहेक अरु केही होइन । उनको विद्रोह निरङ्कुश राणा शासनको र लोकतान्त्रिक शासन प्रणालीको स्थापनाका लागिथियो । उक्त विद्रोहलाई सशक्त बनाउने रणनीतिको रुपमा मात्रै सिद्ध लखन थापा मगर र मनकामना माईको प्रचार र उपयोग गरिएको थियो । जुन रणनीति तत्कालीन समयका लागि सामयिक, औचित्यपूर्ण र सान्दर्भिक थियो ।
३. नेपाली सेनाको कप्तानको पद र युवराज त्रैलोक्य विक्रम शाहको अङ्गरक्षकको जिम्मेवारी
वि.सं. १९११ मा नेपाली सेनाको पुरानो गोरख गण(मगर पल्टन) मा भर्ती भएका लखन थापा मगर अन्य सैनिकहरु भन्दा टाठाबाठा र फूर्तिला थिए । सैन्य सीप र युद्धकलामा निपूण भएकाले सेनामा भर्ना भएको ज्ञद्ध वर्षको अवधिमा नै उनी वि.सं. १९२५ सम्ममा कप्तान पदमा पदोन्नति भएका थिए । विलक्षण प्रतिभा र क्षमता भएकै कारणले उनी छोटो अवधिमा नै विशेष पदोन्नति प्राप्त गरी सेनाको अधिकृत स्तरको कप्तान पदमा पुग्न सफल भएका थिए ।
सेनाको जागिरको सिलसिलामा लखन थापा मगरले तत्कालीन राजा सुरेन्द्रका जेठो छोरा युवराज त्रैलोक्य विक्रम शाहका आठहरिया (अङ्गरक्षक) को जिम्मेवारी समेत निर्वाह गरेका थिए ।युवराजको अङ्गरक्षकको रुपमा नेपाली सेनाका अधिकृतस्तरका कर्मचारीलाई मात्रै खटाइने व्यवस्था थियो ।त्यसैले कप्तान दपमा कार्यरत लखन थापा मगरलाई त्यतिवेला युवराजको अङ्गरकक्षकको जिम्मेवारी प्रदान गरिएको थियो।नेपाली सेनाको अधिकृत (क्याप्टेन) पदको जिम्मेवारी बहन गर्ने सिलसिलामा उनीभित्र नेतृत्व क्षमताको क्रमिक विकास हुँदै गयो । जसले गर्दा वि.सं. १९२७ मा सैन्य पेशा त्यागेपछि उनी जङ्गबहादुर राणाको सरकार र निरङ्कुश राणा शासन विरुद्ध जनसङ्गठन गरी ’प्रथम जनविद्रोह’ को सञ्चालन र नेतृत्व गर्न सफल भए ।
युवराज त्रैलोक्य राणाशासन र जङ्गबहादुर राणाका विरोधी थिए । राजकीय अधिकार प्रदान गरी राणा शासकहरुलाई शक्ति सम्पन्न गराइएको प्रतिउनी असन्तुष्ट थिए । सेनाको जागिरमा रहँदा युवराज त्रैलोक्यको निकटमा रहेर काम गरेकाले लखन थापाले जङ्गबहादुर राणाको हैकम, थिचोमिचो, शोषण र नेपाली जनतामाथि जवर्जस्त रुपमा थोपारिएको निरङ्कुश शासन व्यवस्थाका काला कर्तुतहरु नजिकबाट बुझ्ने र अनुभव गर्ने अवसर प्राप्त गरे । जसले गर्दा राणा शासन प्रति उनीभित्र थप रोष र असन्तोष पैदा भयो । उनमा राणा विरोधी भावना विकास हुनुमा युवराज त्रैलोक्य सँगको निकटता र राणा विरोधी भावनाले समेत प्रभाव पारेको थियो । तर राणातन्त्रको अन्त्य गरेर शासन व्यवस्थामा राजाको अधिकार पुनर्वहाली गराउने नभई शासन अधिकार नेपाली जनतामा स्थापित गरी सुनौलो (लोकतान्त्रिक) व्यवस्थाको सुरुवात गर्ने लखन थापा मगरको उद्देश्य थियो ।
नेपालको इतिहासमा निरङ्कुश र शक्तिशाली शासकको रुपमा उदय भएका जङ्गबहादुर राणाको हत्या भएको थियो वा मृत्यु भन्ने विषय निकै रहस्यात्मक बनाइएको छ । ऐतिहासिक घटनाक्रमको गहन अध्ययन गर्दा प्रथम शहीद लखन थापा मगरको विद्रोही अभियानमा प्रशिक्षित भएका एकजना मगर युवकको घातक हमलाबाट जङ्गबहादुर राणाको हत्या भएको बास्तविकता बुझ्न सकिन्छ ।
४. लखन थापा मगरले शहादत प्राप्त गरेको स्थान र मिति
प्रथम शहीद लखन थापा मगरलाई गोरखामा मनकामना माईको मन्दिर अगाडि फाँसी दिइएको भन्ने तथ्यले आम पाठकहरुमा उनले सहादत प्राप्त गरेको ठाउँको सन्दर्भमा समेत द्विविधा उत्पन्न गराएको हुन सक्दछ । गोरखा जिल्लाको बुंकोट काहुले भङ्गार भन्ने ठाउँमा लखन थापा मगरले विद्रोही किल्ला भित्र पाँचतले दरवार बनाई मनकामना माईको पूजा समेत संचालन गरेका थिए भन्ने विषय माथि नै उल्लेख भैसकेको छ । जनविद्रोहमा जनसहभागिता बढाउने उद्देश्यले रणनीतिक रुपमा मनकामना माईको पूजा चलाइएको उक्त स्थान अगाडिको खिर्राको रुखमा उनलाई झुण्ड्याएर मारिएको थियो ।लखन थापा मगरलाई फाँसी दिइएको किल्ला र प्रतीकात्मक मनकामना माईको पूजास्थलको भग्नावशेष अहिलेसम्म पनि काहुले गाउँमा सुरक्षित रहेको छ । त्यतिवेला दिइएको किल्ला रहेको कि.नं. ८८३ को जग्गा नापी कार्यालयको फिल्डबुकमा श्री छ को सरकार मन्दिरको नाममा दर्ता रहेको छ । त्यतिवेला लखन थापा मगरलाई झुण्ड्याइएको करिव घ से.मि. मोटाइको वावियोको डोरी झारफुक गरी वूटी (झाँक्री विद्याअनुसार मानिसको रक्षा र स्वस्थताको निम्ति लागाइदिने एक प्रकारको माला) बनाई लगाउने कार्यमा प्रयोग भई नष्ट भैसकेको छ ।त्यसैगरी लखन थापा मगरलाई उनीहरुकै किला (गढी)मा झुण्ड्याइएको भन्ने विषयमा सबै इतिहासकारहरुको मतैक्यता रहेको पाइन्छ । यसर्थ प्रथम शहीद लखन थापा मगरलाई विद्रोह संचालनका लागि उनीहरु आफैले निर्माण गरेको गोरखा बुंकोट काहुले भङ्गारको किल्ला परिसर भित्र स्थापना गरिएको प्रतीकात्मक मनकामना माईको पूजा स्थाल अगाडिको खिर्राको वोटमा झुण्ड्यार मारिएको स्पष्ट हुन्छ ।
लखन थापा मगरलाई कहिले फाँसी दिइएको थियो भन्ने सन्दर्भमा विश्लेषण गर्दा गोरखा दरवार परिसरमा रहेको गोरखकाली मन्दिर अगाडि वि.सं. १९३३ माघ ९ गते तत्कालीन पाल्पाका मेजर कप्तान शम्शेरजङ्ग थापा क्षेत्री र सुब्बा वीरमान जङ्गथापा क्षेत्रीको नाम उल्लेख गरी गोरखाका स्थानीय जनताहरुले चढाइएको घण्ट भेटिएको छ । इतिहासकार प्रा.डा. तुलसीराम वैद्यका अनसार उक्त घण्ट लखन थापा मगरलाई फाँसी दिइसकेपछि उनको सम्मान र सम्झनामा गोरखावासीहरुले चढाइएका थिए। गोरखाबासीलाई शान्त पार्न वा हात लिनका लागि जङ्गबहादुर राणाले त्यतिवेला केही रकम वकस स्वरुप चढाइएको र उक्त रकम अस्वीकार गरेमा जङ्गबहादुरको रिसको शिकार हुनपर्ने भएका कारणले आफ्ना स्वजन्य वीर लखन थापा मगरलाई श्रद्धा गरी उक्त घण्ट चढाइएको कुरा प्रा.डा. वैद्यले उल्लेख गर्नु भएको छ । लेखकले खोज अनुसन्धान गर्ने सिलसिलामा गोरखा दरवार हेरचाह अड्डाका पूर्व प्रमुख एवं हाल गोरखा जिल्ला समन्वय अधिकारीनानीबाबु पोखरेल, गोरखकाली मन्दिरका पूजारी तथा गोरखा सङ्ग्रहालयका कर्मचारी हरि सारु मगर लगायतका जानकार व्यक्तिहरुबाट उक्त घण्ट लखन थापाको हत्यापछि उनकै सम्मान र सम्झनामा झुण्ड्याइएकाले त्यसलाई ‘लखन थापा मगरको स्मृतिमा झुण्ड्याइएको घण्ट’ कै रुपमा व्याख्या विश्लेषण गर्ने गरिएको जानकारी प्राप्त भएको छ ।उक्त घण्टमा लेखिएको अभिलेख यस प्रकार रहेको छ “स्वस्ति श्री संम्बत १९३३ साल मिति माघ शुदि ९ रोजमा गोर्षा सहर्का थर घर छोटा वडा गैह्रले श्री श्री श्री प्रिति परमेश्वरि आदिकालिका देवी महमाइ प्रिति गरी चढ्हायाको घण्ट हो मार्फत् मेजर कप्तान समसेर जंङ्ग थापा क्षत्रृ सुब्बा विरमान जङ्ग थापा क्षत्रृका पाला महाशुक्य ।’’ तत्कालीन समयमा लखन थापाको विद्रोहबारे सूचना संकलन गर्ने र निगरानी गर्ने सरकारी जिम्मेवारी प्राप्त गरेका मेजर र कप्तान शमशेरजङ्ग थापा क्षेत्री र सुब्बा वीरमानजङ्ग थापा क्षेत्री मार्फत् घण्ट चढाइएको प्रमाण भेटिएकाले पनि उक्त घण्ट प्रथम शहीद लखन थापा मगरकै सम्मानमा झुण्ड्याइएको प्रष्ट हुन्छ । तत्कालीन राजनीतिक परिवेशमा राणा सरकारको विरोध गरेका कारणले शासकबाट झुण्ड्याइएका लखन थापाको नाम प्रत्यक्ष रुपमा उल्लेख गर्न सकिने परिस्थिति नभएकाले चातुर्यतापूर्ण तवरले उक्त घण्टको व्यहोरा लेखिएको पाइन्छ । यस प्रमाणको आधारमा लखन थापा मगरलाई वि.सं. १९३३ माई ९ गते अधि नै फाँसी दिइएको स्पष्ट हुन्छ ।
लखन थापा मगरले निर्माण गरेको किल्ला रहेको गाउँ वरपरका स्थानीहरुले प्रत्येक पर्ष पुसको पहिलो पञ्चमीमा ‘भँयरी पूजा’ गर्ने सामाजिक प्रचलन रहेको छ । उक्त पूजा गर्ने क्रममा लखन थापा र उनीसँगै झुण्ड्याइएका व्यक्तिहरुलाई सम्झँदै उनीहरुको आत्माको शान्तिको कामना गर्दै सम्मान प्रकट गरिन्छ । जनवोलीमा ‘लखन पूजा’ समेत भन्ने गरिएको यो पूजा लखन थापा मगरलाई झुण्ड्याएर मारिएको स्मृति दिवसको रुपमा स्थानीयहरुले श्रद्धापूर्वक आरम्भ गरेको हुन सक्ने सम्भावना बलियो देखिन्छ । वि.सं. १९३३ सालको पुस महिनाको पहिलो पञ्चमी ७ गते परेको थियो । भयँरी पुजाको सांस्कृतिक जीवन्तताले लखन थापाको हत्या वि.सं. १९३३ पुस ७ गते भएको पुष्टि गर्दछ । स्थानीय बूढापाकाहरुको भनाई अनुसार लखन थापाको शव नसडीकन सुकेर गएको थियो । उनलाई झुण्ड्याउने वेलामा छाला काढेर अमिलो चुक लगाइदिएको र केही अवधि जाडो याम बाँकी रहँदैको चिसोको महिना भएकाले अनकूल वातावरण नपाउँदा शव तत्कालै नसडेको हुन सक्दछ । यस तथ्यबाट समेत उनलाई जाडो यामको पुस महिनामा झुण्ड्याइएको हुन सक्ने प्रवल संभावना देखिन्छ । पुरुषोत्तम शमशेर ज.ब.रा.ले लुकिछिपेका प्रतिभाहरु भन्ने पुस्तकमा लखन थापा मगरलाई वि.सं. १९३३ पुस महिनामा जङ्गबहादुर राणाको आदेशमा फाँसी दिइएको उल्लेख गरेका हुन् । माथि उल्लेखित घण्टको अभिलेख, भयँरी पूजाको सांस्कृतिक जीवन्तता र शव नसडेको भन्ने जनश्रुती समेतले वि.सं. १९३३ पुस ७ गते नै लखन थापा मगरलेशहादत प्राप्त गरेको भन्ने तथ्य नै बढी सान्दर्भिक र विश्वसनीय देखिन्छ । विगत करिब दुई दशकदेखि लखन थापा मगरको स्मृति दिवस फागुन २ गते मनाउने प्रचलनको आरम्भ नेपाल मगर संघले गरेको पाइन्छ । लखन थापाको हत्या भएको एकहप्ता वरपरको अवधिमा जङ्गबहादुर राणाको मृत्यु भएको भन्ने जनश्रुतिमा आधारित भएर फागुन २ गतेलाई स्मृति दिवसको रुपमा मनाउने प्रचलनको थालनी भएको हो । तथापि ‘फागुन २’ मा स्मृति दिवस मनाउने प्रचलन रहनु अगाडि सदियौं देखि हरेक वर्ष पुसको पहिलो पञ्चमीमा भयँरी पूजा (लखन पूजा पनि भन्ने गरिएको) गर्ने प्रचलन रहेकाले उनको हत्या पुसको पहिलो पञ्चमीमा नै भएको तथ्य बढी युक्ति संगत देखिन्छ । उनकै श्रद्धा र सम्मानमा पूजा गरिएकाले पनि ‘भयँरी पूजा’ लाई ‘लखन पूजा’ भन्ने जनवोली स्थापित भएको पाइन्छ ।
जङ्गबहादुर क्रुद्ध भई लखन थापा मगर, जयसिंह चुमी राना मगर, विराज थापा मगर, जुठ्या थापा मगर, जितमान गुरुङ, अछामी मगर र अजपसिंह थापा मगरलाई गोरखा बुंकोट काहुलेमा उनीहरुकै किल्लाभित्रको मनकामना माईको पूजास्थल अगाडि स्थानीय जनसमुदायको उपस्थितिमा फाँसी दिने हुकुम चलाए । सरकारी सेनाले जङ्गबहादुरकै आदेश मुताविक उनीहरुलाई गोरखा बुंकोटको काहुले लगेर झुण्ड्याइदिए ।
५. प्रथम जनविद्रोहका योद्धा एवम् शहीदहरु
लखन थापा मगरको नेतृत्वमा भएको प्रथम जनविद्रोहका क्रममा राणा शासन व्यवस्था विरुद्ध सङ्गठित नेपाली जनताहरुले जनसरकार र जनसेना गठन गरी सशक्त क्रान्ति गरेको पाइन्छ । त्यतिवेला भूतपूर्व सैनिक यूवा लगायत विभिन्न समुदायका मानिसहरु संगठित गरी करिब दुई हजारको सङ्ख्यामा जनमिलिसिया गठन गरिएको थियो । जनसेनामा नेपालका विभिन्न भूगोलका सबै जाति, समुदायका मानिसहरु संलग्न थिए ।त्यसको प्रमाणको रुपमा विद्रोही किल्ला रहेको काहुले गाउँको मनाङ्गे डाँडा (हाल अपभ्रंश भई मन्के डाँडा भन्ने गरिएको) लाई लिन सकिन्छ । लखन थापा मगरको विद्रोहलाई साथदिन मनाङ्गबाट आएका एकजना व्यक्ति त्यतिवेला अकस्मात विरामी भएर मृत्यु भएकाले त्यस ठाउँलाई मनाङ्गे डाँडा भनिएको स्थानीय बुढापाकाहरुको भनाइ रहेको छ । इतिहासकार एवम् अध्येता महेशचन्द्र रेग्मीले रेग्मी रिसर्च सेरिज (वर्ष १२, अंक ५) मा वि.सं. १९३२ फागुन २६ गते (इ.स. १९७६ मार्च ९) मा लखन थापा मगरलाई बन्दुक र तरवारले सु–सज्जित ठूलो संख्याका सशस्त्र भोटेहरु (जनता) ले साथ दिएको प्रसङ्ग उल्लेख गर्नुभएको छ ।
प्रथम जनविद्रोहमा संलग्न जनताहरुले अन्य नेपाली जनताहरु समेतको समर्थनमा वि.सं. १९३२ चैत्र २१ गते लखन थापा मगरको नेतृत्वमा जङ्गबहादुर राणाको जहानियाँ तानाशाही सरकार विरुद्ध जनसरकार घोषणा गरे । विद्रोही नेता लखन थापा मगलाई जनसरकारको प्रधानमन्त्री र जयसिंह (जहरे) चुमी राना मगरलाई जनसेनाको जनरल (सेनापति) को जिम्मेवारी प्रदान गरिएको थियो । विराज थापा मगर, जुठ्या थापा मगर, जीतमान गुरुङ्ग र कराल राना मगरलाई जनसेनाको कर्णेल बनाइएको थियो । अजपसिंह थापा मगर, सुकदेव गुरुङ्ग, सुपति गुरुङ्ग, अछामी मगर, सन्त ज्ञानदिल दास, काहुले नजिकैको बकेन्श्वाराका श्रेष्ठ थरका व्यक्ति समेतलाई जनसरकार र जनसेनाको महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको थियो ।
सरकारी संयन्त्र मार्फत लखन थापाको विद्रोहबारे जानकारी पाएपश्चात् तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले देवीदत्त गणका ३ कम्पनी सेना गोरखाको बुंकोट काहुले पठाए । उक्त सरकारी सेना र लखन थापा मगरको नेतृत्वमा रहेको जनसरकार र जनसेनाको बीचमा भीषण युद्ध भयो । अन्त्यमा जनसेना तर्फ गोलाबारुद सकिएपछि लखन थापा लगतयतका विद्रोहीहरु पक्राउ परे । त्यतिबेला विद्रोहीको साथबाट ६० नाल बन्दुक समेत सरकारी सेनाले कब्जामा लिए । लखन थापा लगायत मुख्य १२ जना विद्रोहीहरुलाई बाँसको पिँजडामा कैद गरी यातनापूर्वक काठमाण्डौं पु¥याइयो भने बाँकी करिब ५० जना जतिलाई पैदल हिँडाएर थापाथली दरवारमा लगियो । उनीहरुलाई काठमाण्डौको थापाथली दरबारमा जंगबहादुर समक्ष पेश गरियो । जङ्गबहादुरकै आदेशमा नेल ठोकी कोर्रा हानियो । तर पनि राणा शासनको अन्त्य र जनअधिकार एवं लोकतन्त्रको स्थापनाका पक्षमा मुख्य विद्रोहीहरु अडिग रहे । अन्त्यमा जङ्गबहादुर क्रुद्ध भई लखन थापा मगर, जयसिंह चुमी राना मगर, विराज थापा मगर, जुठ्या थापा मगर, जितमान गुरुङ, अछामी मगर र अजपसिंह थापा मगरलाई गोरखा बुंकोट काहुलेमा उनीहरुकै किल्लाभित्रको मनकामना माईको पूजास्थल अगाडि स्थानीय जनसमुदायको उपस्थितिमा फाँसी दिने हुकुम चलाए । सरकारी सेनाले जङ्गबहादुरकै आदेश मुताविक उनीहरुलाई गोरखा बुंकोटको काहुले लगेर झुण्ड्याइदिए । त्यतिवेला सबैभन्दा अगाडि विद्रोही नेता लखन थापा मगरलाई छाला काढेर अमिलो चुक लगाई किल्ला भित्रको प्रतिकात्मक मनकामना माईको थान अगाडि वर्वतापूर्वक झुण्ड्याइयो । त्यसपछि लखन थापालाई झुण्ड्याइएको बायाँ तर्फ रहेको अम्बाको बोटमा जयसिंहलाई झुण्ड्याइयो भने मृत्युदण्ड तोकिएका अन्य छ जनालाई पनि पालैपालो सोही ठाउँमा नै प्राणदण्ड दिइयो । यसरी वि.सं. १९३३ पुस महिनाको पहिलो पञ्चमी (७ गते) का दिन नेपाल आमाका ७ जना होनाहार सपुतहरुले बलिवेदीमा झुण्डिएर सहादत प्राप्त गरे । प्रथम जन विद्रोहमा सहादत प्राप्त गर्ने यी ७ जना शहीद तथा अन्य योद्धाहरुलाई सरकारले उचित निर्णय गरी सम्मान गर्नु अपरिहार्य देखिन्छ ।
६. जङ्गबहादुर राणाको हत्या
नेपालको इतिहासमा निरङ्कुश र शक्तिशाली शासकको रुपमा उदय भएका जङ्गबहादुर राणाको हत्या भएको थियो वा मृत्यु भन्ने विषय निकै रहस्यात्मक बनाइएको छ । ऐतिहासिक घटनाक्रमको गहन अध्ययन गर्दा प्रथम शहीद लखन थापा मगरको विद्रोही अभियानमा प्रशिक्षित भएका एकजना मगर युवकको घातक हमलाबाट जङ्गबहादुर राणाको हत्या भएको बास्तविकता बुझ्न सकिन्छ । घोडा चढेर तराईको शिकार यात्रामा निस्किएका जङ्गबहादुर राणालाई धादिङको बेनीघाटमा लुकेर बसेका प्रथम जनविद्रोहका क्रममा लखन थापा मगरबाट प्राशिक्षित मगर युवकले एक्कासी खुकुरी प्रहार गरेपश्चात जङ्गबहादुर बेहोस भएर भुँइमा ढले । गम्भीर चोटका कारण सिकिस्त रहेका जङ्गबहादुर राणाको हत्याको बास्तविकतालाई ढाकछोप गर्ने उद्देश्यले तत्कालीन सेनापति धीरशमशेरले साथमा रहेका सैनिकहरुलाई केही धन दिई बास्तविकता बाहिर उजागर नगर्ने सपथ गराए । आक्रमणबाट मृत्युको नजिक पुगिसकेका जङ्गबहादुरलाई बाराको पत्थरघट्टामा पुर्याइयो । पत्थरघट्टामा पुर्याउने क्रममा बाटामा जङ्गबहादुरको शरीरबाट बगेको रगतलाई ‘रगत वमन’ भएको प्रचार गरियो । पत्थर घट्टामा वि.सं. १९३३ फागुत १३ गते जङ्गबहादुरको मृत्यु भएको प्रचार गरियो । काठमाण्डौंबाट जङ्गबहादुरका जेठा छोरा जगतजङ्ग र युवराज त्रैलोक्यलाई पत्थरघट्टामा पढाउन लगाई तत्कालीन राजा सुरेन्द्रबाट पन्जापत्र गरी रणोद्विपसिंह राणालाई प्रधानमन्त्री घोषणा गराउन धीरशमशेर सफल भए ।
जङ्गबहादुर राणाको हत्याको विषयलाई ढाकछोप गर्न सती जाने उनका रानीहरुलाई समेत शव हेर्न नदिई शव राखेको वाकस नखोलिकनै जलाइयो । जङ्गबहादुर जस्तो शक्तिशाली शासकको हत्या एकजना विद्रोही युवकको हातबाट भएकोले त्यसको ढाकछोप गर्नका लागि जङ्गबहादुरको शव घादिङ्गको बेनीघाटबाट नजिकै रहेको राजधानी काठमाण्डौँ नलगी बाराको पत्थरघट्टा पुर्याइएको पाइन्छ । त्यसैगरी रणोद्विप सिहंलाई प्रधानमन्त्री पद दिलाउने कार्यमा जङ्गबहादुरका छोरा जगतजङ्ग र राजा सुरेन्द्रका छोरा युवराज त्रैलोक्य विक्रम शाह बाधक बन्न सक्ने हुनाले उनीहरुलाई बारा(पत्थरघट्टा) बोलाउने र त्यही अवधिमा रणोद्विप सिंहलाई राजा सुरेन्द्रबाट प्रधानमन्त्री घोषणा गराउने कार्य भएको थियो ।
मगर विद्रोहीको खुकुरी प्रहारको कारणले देहत्याग गरेका जङ्गबहादुरको कालगतिले मृत्यु भएको प्रचार गर्न लगाइए पनि हत्याको विषय नेपाली समाजमा मौखिक रुपमा संचार हुँदै गयो । त्यसैले नेपाली समाजमा लिडे बाघको आक्रमणबाट जङ्गबहादुरको हत्या भएको वा जार काट्ने अनुमति लिएका मगर युवक (जसको श्रीमती जङ्गबहादुरले लगेका थिए) को हातबाट जङ्गबहादुरको हत्या भएको जस्ता विषयहरु भित्री रुपमा व्यापक संचार भयो । जुन विषयले लखन थापा मगरको नेतृत्वको जनविद्रोहमा प्रशिक्षित मगर युवकको आक्रमणबाट जङ्गबहादुर राणाको हत्या भएको वास्तविकतालाई साङ्केतिक रुपमा उजागार गरेको पाईन्छ ।
अन्त्यमा,
प्रथम शहीद लखन थापा मगरको तेतृत्वमा भएको प्रथम जनविद्रोहसँग सम्बन्धित धेरै विषयहरुलाई तत्कालीन सरकारी पक्षले ढाकछोप गर्ने वा गलत ढंगले दुष्प्रचार गर्ने प्रयास गरेको पाइन्छ । तत्कालीन समयमा शासकका विरोधीहरुले गरेका गतिविधिहरु कहीँ कतै नलेखिने र लेखिए पनि भ्रामक तवरले लेखिएको पाइन्छ । आजको लोकतान्त्रिक शासन व्यवस्थामा इतिहासका विद्यार्थीर खोजकर्ताहरुले प्रथम शहीद लखन थापा मगरको विद्रोहका बास्तविकताहरु उजागर गराई नेपाली समाजमा उनीहरुलाई परिचित गराउनु अत्यावश्यक छ । साथै राज्यले पनि शहीद र योद्धाहरुलाई उचित सम्मान गर्नु अपरिहार्य रहेको छ ।